१९ साउन, जनकपुरधाम ।
प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार सोमबार मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितहरु २२ देखि ५२ वर्ष उमेर समूहका छन् । त्यस्तै मुख्यमन्त्री कार्यालयमा खटिएका १ जना ट्राफिक प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधामका दुई जना चिकित्सकसहित १६ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सह–निर्देशक विजय झाले जानकारी दिए । झाका अनुसार संक्रमितमध्ये २ जना नर्स हुन् भने अन्य कर्मचारी छन् । प्रादेशिक प्रयोगशालाका २ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रजिअ भट्टराईका अनुसार जनकपुरधामस्थित ग्लोबल आईएमई बैङ्कका तीन जना कर्मचारी पनि कोरोना संक्रमण देखिएको छ ।