२१ साउन, एजेन्सी । मंगलबार लेबनानको राजधानी बेरूतमा भएको विष्फोटमा हालसम्म एक सय जनाले ज्यान गुमाएका छन् । अत्यधिक विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा विस्फोट हुँदा करिब ४ हजार बढी मानिस घाइते भएको बिबिसीले जनाएको छ।
विस्फोटबाट नजिकका भवनहरूको सिसा फुट्नुका साथै भवनहरू ध्वस्त भएको समाचारमा जनाइएको छ ।
लेबनानी सरकारी अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने जनाएका छन्। लेबनानका राष्ट्रपति मिचेल अउनले सो गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट बिना कुनै सुरक्षा(सावधानी ६ वर्षदेखि भण्डारण गरेर राखिएको बताउँदै सो लापरवाही अस्वीकार्य भएको बताएका छन् ।
घटनालाई लिएर उनले बुधबार मन्त्रिपरिषदको आपतकालीन बैठक डाकेका छन्। उनले दुई साता देशमा आपतकाल घोषणा गर्नुपर्ने बताएका छन्।
त्यसैगरी लेबनानका प्रधानमन्त्री हसन डायबले देशसमक्ष घटनामा जिम्मेवारलाई कठघरामा उभ्याइने बताएका छन्।
उनले घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।