२२ साउन, सप्तरी ।
सप्तरीमा कोरोना भाइरसको लक्षण देखिएर मृत्यु भएका तीन जनामध्ये एकजनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका सप्तरीको रुपनी गाउँपलिका–५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
कोरोनाबाट मृत्यु भएका पुरुष ४५ दिन पहिले मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका थिए। मंगलबार एक्कासी ज्वरो आएको र सास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि धरान पठाइएकोमा मंगलबार राति बाटोमै मृत्यु भएको थियो । यस्तै निजी अस्पतालमा उपचार गराई रहेका अन्य दुईजनाको समेत मृत्युु भएकोमा उनीहरुमा भने संक्रमण देखिएन।
मृतक तीनैजनाको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको थियो । त्यसमध्ये एकजनाको रिपोर्ट पोजेटिभ आएको झाले बताए ।