२६ साउन, धनगढी ।
आइतबार राति बूढीगंगा नदीको बाढीले बाजुराको तटीय क्षेत्रका बस्तीमा क्षति पुर्याउनुका साथै एक जनालाई बगाएर बेपत्ता बनाएको छ ।
बडिमालिका नगरपालिका–२ घाँघर टोलमा बाढीले घर भत्काएको छ । सोही स्थानकी ६५ वर्षीया आइसेनी महत बेपत्ता भएकी हुन् । उनी वडाध्यक्ष डम्मर महतकी आमा हुन् । नदी बस्तीमा पसेर घर बगाएको बडिमालिकाका नगरप्रमुख पदमबहादुर बडुवालले बताए ।
नदीले जडांगामा रहेको बेलिब्रिज बगाउनुका साथै सडक भत्काइदिएको छ । अन्य ठाउँका झोलुंगे पुलसमेत बगेको स्थानीयले बताएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
