२६ साउन, काठमाडौँ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ को परीक्षण बढाउने भन्दा क्वारेन्टाइन व्यवस्थापनमा जोड दिनुपर्ने बताएका छन् । काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमको सोमबारको बैठकमा फोरमका अध्यक्ष समेत रहेका मेयर शाक्यले पीसीआर परीक्षणको दर बढाउन भन्दापनि क्वारेन्टाइनको संख्या बढाउन आवश्यक रहेको बताए ।
पीसीआर परीक्षणले संक्रमण पछिको अवस्थाको जानकारी मात्रदिने भएकाले संक्रमण नै हुन नदिन व्यवस्थित र मापदण्ड अनुसारको क्वारेन्टाइन निर्माण गर्नुपर्ने बताए । एक दिनमा १० हजार पीसीआर परीक्षण गर्दा ठूलो रकम खर्च हुने तर नतिजा ननिस्कने भएकाले पीसीआर परीक्षण भन्दा क्वारेन्टाइनमा राखेर संक्रमणको रोकथाम गर्नुपर्ने बताए । त्यस्तै कन्ट्याक्ट ट्रेसिङ गरी निश्चित ठाउँ शील गर्नुभन्दा पनि उपत्यका प्रवेश गर्ने नाकाहरुमा शील गरी आवतजावतमा कडाई गरेमा संक्रमणको जोखिम न्युनीकरण गर्न सकिने शाक्यले बताए ।
मेयर शाक्यले बाहिरी जिल्ला र भारतबाट समेत मानिसहरु काठमाडौं आएकाले संक्रमणको जोखिम बढेको बताए । अहिले सम्मपनि समुदायमा धेरै संक्रमण नदेखिएको तर यसलाई नियन्त्रण गर्न नसके कुनैपनि बेला स्थिति भयावह हुन सक्ने उनले बताए । यो विषयलाई आफुले कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा समेत राखेको र सरकारबाट समस्या समाधानहुने अपेक्षा गरिएको बताए ।