२७ साउन, एजेन्सी । न्युजिल्याण्डमा एक सयभन्दा धेरै दिनपछि फेरि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले चार जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको जानकारी दिएकी छन् । उनले अकल्याण्डमा सयभन्दा धेरै दिनपछि सङ्क्रमित भेटिएको र त्यहाँ तेस्रो चरणको लकडाउन कायम रहेको बताएकी हुन् ।
सङ्क्रमित चारै जना एउटै घरमा बस्नेहरु रहेको बीबीसीले जनाएको छ । उनीहरुलाई कोरोना कसरी स¥यो भन्ने स्रोत पत्ता लागेको छैन ।
कोरोना महामारी नियन्त्रण गर्न सम्बन्धमा न्युजिल्याण्डको प्रयासको चौतर्फी सराहना भइरहेको छ, न्युजिल्याण्डले महामारीको सुरुवातमा नै आफ्नो सीमा बन्द गर्दै देशव्यापी लकडाउन लागू गरेको थियो ।
विश्वका शक्तिशाली राष्ट्रका पुरुष नेतृत्वहरु कमजोर देखिइरहेको बेला कोरोना नियन्त्रणको लागि न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले विश्वलाई एक उदाहरण दिएकी छिन् । लकडाउनको सशक्त पालना, क्वरेण्टीनको व्यवस्थापन र कुशल नेतृत्वको कारण न्युजिल्याण्डबाट पाठ सिक्न सक्ने विशेषज्ञहरु बताउँछन् ।
न्युजिल्याण्डमा अहिलेसम्म एक हजार पाँच सय ७० जना सङ्क्रमित छन् भने कोरोनाका कारण अहिलेसम्म २२ जनाको मृत्यु भएको छ ।