२८ साउन, बुटवल ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ ।
तीमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो भने अर्काको रिपोर्ट आउन बाँकी छ । कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।
‘साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो,’ उनले भने, ‘२७ गते भर्ना भएका २५ वर्षीय पुरुषको रिपोर्ट आउन बाँकी छ ।’ दुवै जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो ।
थापाका अनुसार ४२ वर्षीय व्यक्तिको कोरोनाकै कारण बिहान ४ बजे मृत्यु भएको हो । अर्का व्यक्तिको बिहान साढे ३ बजे ज्यान गएको हो । उनलाई श्वासप्रश्वासमा समस्या, खोकी लाग्ने, ज्वरो आउनेजस्ता लक्षण थिए ।
किड्नीमा समस्या रहेका ती व्यक्ति केही महिनाअघि भारतमा पनि उपचार गराएर आएको थापाले बताए ।