योगेन्द्र योगी
३१ साउन, दोहा ।
कतारबाट ३० औँ उडानमार्फत शुक्रबार २६३ जना नेपाली स्वदेश फर्किएका छन् । दोहाबाट काठमाडौँका लागि उडेको नेपाल एयरलाईन्सको २३९२ को जहाजमा २८ महिलासहित २६३ जना नेपाल फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।
स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि नेपाली दूतावासका कर्मचारी र नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
कतारबाट नेपाल फर्किन चहाने नेपालीको संख्या १३ हजार २५५ भएपनि यो समाचार तयार पर्दासम्म कतारबाट ५ हजार ४ सय ६५ जना नेपाली मात्र स्वदेश फर्किएको दूतावासले जनाएको छ । कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किने नेपाली श्रमिकहरुको संख्या बढिरहेको दूतावासले जनाएको छ ।