३१ साउन, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदी–२ मा पहिरोमा परेर हराइरहेका थप दुई जनाको शव भेटिएको छ ।
अहिले उनीहरुको शव निकाल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार अझै पनि २६ जना हराइरहेका छन् । हिजो बिहान खसेको पहिरोले ३७ वटा घरमा नोक्सानी पुर्याएको र त्यसमध्ये १३ वटा घर पूरै भत्किँदा हराएकामध्ये ११ जनाको शव हिजो भेटिएको थियो ।
शव भेटिएकाहरुको सामूहिक अन्त्येष्टि गर्ने तयारी भएको पनि उनले बताए । घाइते ५ जनाको भने सदरमुकाम चौतारामा उपचार भैरहेको छ । हराइरहेकाहरुको खोजीको लागि स्काभेटर लैजाने तयारी भएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए । पहिरोबाट सय धुरीभन्दा धेरै परिवार विस्थापित भएका छन् ।
विस्थापित भएकाहरुले त्रिपालमुनि बसेर रात काटेका छन् । यसैबीच पहिरो प्रभावित सिन्धुपाल्चोकको लिदीमा आज हल्का पानी परिरहने भएकाले हराइरहेकाहरुको खोजीमा समस्या हुने देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज पहिरो प्रभावित क्षेत्रमा ठूलो पानी नपरे पनि हल्कादेखि मध्यम खालको पानी पर्दै रोकिँदै पर्ने क्रम चलिरहनेछ । त्यहाँ राति पनि पानी परेको उनले जानकारी दिए ।