३१ साउन, महोत्तरी ।
महोत्तरीको भंगहा नगरपालिका–५ राजपुरटोलमा सर्पले टोकेको भ्ररममा परि ८ जना बेहोस भएका छन् ।
सर्पले टोकेको आशंकामा बर्दिवासमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भएकोमा कसैलाई पनि विष नलागेको चिकित्सकले बताएका छन् । गएराति सर्पले टोकेको भन्दै बेहोस भएका ७ जना महिला र एकजना पुरुषलाई सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको थियो ।
उपचारका लागि ल्याइएकाहरु अहिले समान्य अवस्थामा रहेको र उनीहरु सबैजना घर फर्किएको बर्दिवास सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए ।
‘उनीहरुमध्ये कसैको जिउमा सर्पले टोकेको चिनो नभएको र शरीरमा विषको असर पनि नभएकाले भ्रममा परि बेहोस भएका हुन्’, देवकोटाले भने, ‘गाँउकै स्थानीय एक महिलालाई सर्पले टोक्दा ज्यान गएको र नजिकै शव गाडेकाले डराएर आफूहरुलाई पनि सर्पले नै टोक्यो भन्ने मनोवैज्ञानिक कारणले बेहोस भएका हन सक्छन् ।’
यस सम्बन्धमा भंगहाका नगरप्रमुख सञ्जीव साहले १६ जनालाई सर्पले टोकेको भनेर आफूलाई राति खबर भएको र त्यही अनुसार सञ्चारमाध्यमलाई पनि जानकारी गराएको बताए । तर पछि बुझ्दै जाँदा उनीहरुलाई सर्पले टोकेको भ्रम मात्र भएको उनको भनाइ छ ।
शुक्रबार साँझ एउटै टोलका १५, १६ जनालाई पालैपालो सर्पले टोकेको भन्दै त्रास फैलिएको थियो ।