२ भदौ, चितवन ।
चितवनमा ४२ जना सशस्त्र प्रहरीसहित एकै दिन ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरमा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालाले सोमबार राति सार्वजनिक गरेको विवरणमा चितवनमा ४६ जना संक्रमित थपिएको जनाईएको छ ।
सशस्त्र प्रहरीको चितवन भण्डारास्थित गणका ४२ प्रहरीमा कोरोना संक्रमण देखिएको हो । प्रयोगशालाका अनुसार ३ सय ५५ वटा नमुना परीक्षण गर्दा ५० वटामा संक्रमण भेटिएको थियो । तीमध्ये राप्ती नगरपालिका–६ को प्रहरी क्वारेन्टाइनका दुई महिलासहित ४२ र भरतपुर महानगरपालिकाका चार महिला छन् । बाँकी मकवानपुरकी एक महिला, बाराका एक महिला र पुरुष तथा गोरखाकी एक महिला हुन् । उनीहरू भरतपुरकै अस्पतालहरूमा उपचार गराउन आएका बिरामी हुन् ।
चितवनमा एकै दिन थपिएका बिरामीको यो संख्या अहिलेसम्मकै बढी हो । अहिलेसम्म चितवनमा संक्रमितको संख्या २५५ पुगेको छ ।
यो सँगै सशस्त्र प्रहरीको भण्डारास्थित गणमा मात्र ५० जना संक्रमित भइसकेका छन् । गणका प्रमुख डीआईजी मन्दिप श्रेष्ठका अनुसार पहिले आठ जनामा संक्रमण भेटिएपछि ६० जनाको स्वाब संकलन गरेर पठाएकोमा थप ४२ जनामा संक्रमण भेटिएको हो ।