२ भदौ, पोखरा । पोखराको कास्की सेवा अस्पतालमा गएराति निधन भएकी एक महिलामा कोरोना पोजेटिभ देखिएको छ ।
तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको सोमबार राति साढे ११ बजे निधन भएको थियो । उनको आज बिहान कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।
निमोनिया देखिएपछि ती महिला साउन ३२ मा उक्त अस्पतालमा भर्ना भएकी थिइन् । अस्पताल प्रशासनका अनुसार उनलाई मुटुरोग र मधुमेहसमेत थियो । मृतक महिलामा कोरोना देखिएपछि हाल अस्पतालको सेवा बन्द गरिएको र शव व्यवस्थापनको तयारी भइरहेको बताइएको छ ।
मृतको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई राख्न क्वारेन्टाइनको खोजी भइरहेको पनि जनाइएको छ ।