४ भदौ, काठमाडौँ ।
कोभिड १९ संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतले नेपालमा थप ६ जनाको मृत्यु भएको बताएका हुन् ।
मृत्यु हुनेमा काठमाडौंका एक जना महिला, मकवानपुरका एक जना पुरुष, सप्तरीका एक जना पुरुष र पर्साका एक जना महिला र दुई जना पुरुषको मृत्यु पुष्टि भएको बताए । यससँगै नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।
प्रवक्ता देवकोटाका अनुसार पछिललो २४ घण्टामा ७ सय ७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ९२ महिला र ५ सय १५जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ७४ ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २ सय ६४ जना र आज सम्म १७ हजार ९ सय ६४ जना रहेको प्रवक्ता गौतमले बताए ।
हाल सम्म देशभर ११ हजार ५ सय ५५ जम्मा सक्रिय संक्रमितको संख्या रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ८ हजार ८३ जना रहेको छ । जसमध्ये प्रदेश १ मा १ हजार ४५ जना, प्रदेश २ मा १ हजार ९ सय ५३ जना, बागमती प्रदेशमा २ हजार ९ सय २३ जना, गण्डकी प्रदेशमा ३ सय १५, प्रदेश ५ मा ८ सय ३७ जना, कर्णाली प्रदेशमा २ सय ५३ जना र सूदुरपश्चिम प्रदेशमा ७ सय ५७ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या प्रदेश १ मा २ सय ५७ जना, प्रदेश २ मा २ हजार ७ सय ८९ जना, बागमती प्रदेशमा १ सय ११, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा २ सय ४२, कर्णाली प्रदेशमा १८ र सूदुरपश्चिम प्रदेशमा २८ गरी जम्मा ३ हजार ७ सय ७२ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ३९ प्रयोगशालाबाट ११ हजार ८ सय ३२ पीसीआर परीक्षण भएको छ । यससँगै हालसम्म कुल ५ लाख ६६ हजार २ सय २० पीसीआर परीक्षण भएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७ सय ६८ रहेको छ ।