नितेश यादव
११ भदौ, जनकपुरधाम ।
कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ । यससँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– ४ का ४५ वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
बुधबार प्रादेशिक अस्पताल जनकपुरको ओपिडिमा भर्ना भएका ती पुरुषको सोही दिन स्वाब संकलन गरि कोरोना परीक्षण गर्दा बिहीबार उनमा कोरोना संक्रमण पुष्टि भएको झाले बताए ।
झाका अनुसार पुरुषकाे बुधबार अस्पताल आएपछि स्वाब संकलन गरिएको थियो तर बुधबार नै दिउँसो उनको मृत्यु भएको थियो । मृतक पुरुषमा पहिला देखि नै क्षयरोग तथा मधुमेहकाे समस्या रहेकाे चिकित्सकले बताएका छन् ।