१३ भाद्र, चितवन ।
शनिबार बिहान चितवन मेडिकल कलेज (सीएमसी)को शिक्षण अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाराको निजगढ–७ बस्ने ४७ वर्षकी संक्रमित महिलाको निधन भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । शनिबार बिहान सात बजेर ५३ मिनेट जाँदा ती महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । उनी मिर्गौलासम्बन्धी पीडित रहेको अस्पतालले बताएको छ ।
साउन २६ गते सीएमसीमा भर्ना भएर उनको डायलसिस भइरहेको थियो । श्वासप्रश्वासमा जटिलता देखिएपछि परीक्षण गरेर हेर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकेको अस्पतालको भनाइ छ ।
सीएमसीमा अहिले पनि ४१ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । तीमध्ये १९ जनाको अवस्था गम्भीर र जोखिमपूर्ण रहेको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताए । चितवनमा हालसम्म कोरोना भाइरसको संक्रमण देखिएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।
तीमध्ये चारजना चितवनका हुन् । अरु अन्य जिल्लाका हुन् । भरतपुरमा मृत्यु हुने संक्रमितमध्ये तीनजना हेटौंडाकै छन् । बारासहित, गोरखा र कैलालीका एक एकजना व्यक्तिको पनि संक्रमण देखिएपछि उपचारकै क्रममा भरतपुरमा ज्यान गएको थियो ।