१५ भदौ,विराटनगर।
प्रदेश नम्बर १ मै पहिलो पटक निजी क्षेत्रबाट भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । झण्डै दुई दशक देखि संचालनमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी संचालनमा ल्याइएको हो ।
कोभिड अस्पतालको एक कार्यक्रमका बिच प्रदेश नं १ सामाजिक बिकास मन्त्री जीवन घिमिरे, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे तथा ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले संयूक्त रूपमा शुभारम्भ गरेका छन् । विश्व नै आक्रान्त बनाएको कोरोना भाइरसबाट संक्रमित बिरामीहरुले अस्पतालको शैया नपाएर घरमै बस्न बाध्य भएको बेला न्यूरोले कोभिड अस्पताल संचालनमा ल्याएको हो ।
४२ शैयाको जनरल वार्ड, ७ शैयाको आइसियु र २ भेन्टिलेटरसहितको कोभिड अस्पताल संचालनमा ल्याइएको र केही दिन भित्र पीसीआर परीक्षण प्रयोगशाला समेत स्थापना गरिने अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले बताए । अस्पतालले कोभिडको संभावित विरामीहरुको लागि बिभिन्न प्याकेजहरु समेत ल्याएको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष घिमिरेले अस्पतालले भेन्टिलेटरसहितको आईसियु बेड संचालनमा ल्याएपछि जनताले अकालमै ज्यान गुमाउनु नपर्ने बताए । यस्तै ब्यापार संघका अध्यक्ष मुन्दडाले प्रदेश १ मै प्रतिष्ठित अस्पतालको रुपमा चिनिएको न्यूरोले सेवाग्राहीको चापलाई मध्यनजर गरि निजि स्तरमा खोलिएको कोभिड अस्पतालले कोरोनाको महामारीलाई केहि हद सम्म भए पनि रोक्न सहयोग गर्ने बताए ।