१५ भदौ, विराटनगर ।
कोभिड–१९ को संक्रमण विरुद्ध फ्रन्ट लाईनमा काम गर्ने सदस्यहरुलाई विराटनगर जेसीजले सम्मान गरको छ । विराटनगर जेसीजको “ साताव्यापी अनलाइन वेभिनार–२०२० “फ्रन्ट लाईनमा काम गर्नेहरुलाई सम्मान गर्दै सम्पन्न भएको छ ।
भदौ ८ गतेदेखि चलेको वेभिनारको अन्तिमदिन आइतबार जेसीजले कोभिड–१९ का कारण भएको लकडाउनले समस्यामा परेकाहरुलाई निशुल्क खाना खुवाउने कामका लागि देवचन्द्र घिमिरे , कोभिड अस्पतालमा कामगर्ने केशव वस्नेत र धरान कोभिड अस्पतालमा कार्यरत जुनियर जेसीज प्रंशसा पौडेल लाई “कोभिड वेरियर्स”को रुपमा पुरस्कृत गरेको हो ।
साताव्यापी वेभिनारको पहिलो दिन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीसँग अन्तरक्रिया, दोस्रो दिन भाषणकला तालिम, तेस्रो दिन युवा नेता गगन थापासँग संवाद, चौथो दिन डिजीटल उधमशीलता तथा आर्थिक स्वतन्त्रता सम्बन्धी अन्तरक्रिया गरिएको थियो । त्यस्तै पाचौँ दिन मनोज गजुरेल र विपिन कार्की लगायतका कलाकारहरुसँग सफलता तथा संघर्षका कथाहरु, छैटौ दिन राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का संगको अन्तरक्रिया र साताैँ दिनपूर्व राष्ट्रिय अध्यक्षसँग अन्तरक्रिया तथा सम्मान गरी समापन गरिएको जनसम्पर्क अधिकारी प्रवेश दुलालले जानकारी दिए ।
सो कार्यक्रममा जेसीजले आफ्ना विभिन्न सदस्य विज्ञान वस्नेत, अभिशेक भट्टराई, तुलसी निरौला, पंकज सापकोटा, बैजनाथ भगत, सनराईज चौधरी र प्रवेश दुलाललगायतलाई जेसीज अफ द मन्थको रुपमा पुरस्कृत गरेको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका संस्थापक एवं वरिष्ठ परराष्ट्र विद डा. भेषवहादुर थापा रहेका थिए । जसमा वरिष्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठ , विराटनगर जेसीजका संस्थापक राजेन्द्रवहादुर श्रेष्ठ, फुलकुमार लालवानी, प्रदिपमान वैध, विकल शेरचनलगायत थुप्रै जेसीज नेताहरुको उपस्थिती रहेको थियो ।
यस कार्यक्रममा जुम एप्स मार्फत साताव्यापी अवधीभर करिब १२ सय भन्दा बढी व्यक्तिहरु सहभागी भएको दुलालले जानकारी दिए।