१५ भदौ, काठमाडौँ ।
हन्ड्रेड समूहले काठमाडौंको खुलामञ्च स्थित बसपार्कमा निषेधाज्ञाका कारण समस्यामा परेका मानिसहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन भए देखि नै यो समुहले उपत्यकाका विभिन्न ठाउँमा खाना खुवाउँदै आएको थियो ।
पछिल्लो समय निषेधाज्ञा जारी भएपछि भने काठमाडौंको खुला मञ्चमा खाना खुवाउँदै आएको छ । सोमबार पनि दिउसो चार बजेपछि हन्ड्रेड समुहले खुलामञ्च पुगेर खाना खुवाएको हो । खाना खानका लागि दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएका मानिसहरु दिउसो ३ नबज्दै खुलामञ्च पुगेका थिए । खाना खान बालबालिका देखि युवा र वृद्धहरु समेत पुगेका छन् ।

बसपार्क रहेको स्थानमा मानिसहरु लाइनमा बसेर खाना खाने व्यवस्था मिलाइएको छ । केही युवाहरुले खाना खाने ठाउँलाई निसंक्रमण गर्ने काम लिन्छन भने केही युवाहरु खाना वितरण गर्छन् । एक दिनमा ५ सय भन्दा बढी मानिसहरुले पेटभरी खाना खान पाउँछन् ।

सोमबार भने खाना खाने विषयमा केही युवाहरु बीच झडप भएको छ । खाना खान आउने केही युवाहरुले खाना खुवाउने समुहसँग विवाद झिक्दा झडप हुन पुगेको थियो । तर पनि खाना खुवाउने काम भने रोकिएन । विवाद गर्न आउनेहरु शान्त भएपछि युवाहरुले खाना खान आउने मानिसहरुलाई खाना खुवाएका थिए ।