१८ भदौ, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण रोकिएको रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोक पुगेका स्थानीय युवा र प्रहरीबीच झडप भएको छ । लामो समयदेखि रोकिएका रथ तान्न भेला भएका युवाहरुलाई प्रहरीले हटाउन खोज्दा झडप भएको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोड्दै संख्यामा स्थानीय पुल्चोकमा भेला भएका थिए । भिड हटाउन प्रहरीले आग्रह गर्दा पनि स्थानीयहरुले रातो मच्छिन्द्रनाथको रथ तानेर बिच सडकमा ल्याएका थिए । प्रहरीले भिडलाई तितर वितर पार्न खोज्दा आक्रोशित स्थानीयले नाराबाजी गरेका थिए । प्रहरीले उनीहरुलाई रोक्न खोज्दा झडप भएको हो ।
स्थानीयले नाराबाजी गर्दै प्रहरीलाई ढुंगामुडा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहोर सँगै केही सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा केही घाइते भएका छन । लामो समय देखि रोकिएको मच्छिन्द्रनाथलाई मलमास अगाडि नै बुंगमती लग्नुपर्ने प्रचलन छ । असार १० गतेबाट रथ निमाणको काम सुरु भएको थियो । भदौ १ गतेबाट तानिने भनिएपनि गुठीले तत्काल नतान्न निर्देशन दिएपछि रोकिएको थियो ।
मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ । गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन । लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमापूजा गरेपछि पुल्चोकमा निर्माण सुरू गरिएको थियो ।