३० भाद्र, धरान ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी कोरोना संक्रमित भएका छन् ।
उपकुलति गिरीले बीपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका हुन् । उपकुलपति गिरीको आइतबार स्वाब संकलन गरी प्रतिष्ठानकै माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
उनले फेसबुक पेजमा लेखेका छन्, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्ने क्रममा सम्पूर्ण सुरक्षाका उपायहरु अपनाउँदा अपनाउँदै र साथै दुई हप्ताको अन्तरालमा नियमित परीक्षण गर्दैगर्दा पनि मलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।’
कोरोना पुष्टि भएपछि प्रतिष्ठानको आफ्नै आवासमा आइसोलेसनमा बसेको उनले जनाएका छन् । उनले प्रतिष्ठानको हितमा विभिन्न नीति निर्माण गर्दै कार्यालयको दैनिक काममा व्यस्त रहँदा संक्रमण भएको पनि खुलाएका छन् । उपकुलपति गिरीले आफूसँग सम्पर्कमा आएका सबैलाई पीसीआर जाँच गरेर सजगता अपनाउन पनि अनुरोध गरेका छन् ।
आफू होम आइसोलेसनमा बसे पनि प्रतिष्ठानका दैनिक कार्यहरु आइशोलेसन कक्षबाटै नियमित रुपमा सञ्चालित हुने र तत्काल आइपर्ने समस्याहरु आफ्नो सचिवालयमार्फत समन्वयमा समाधान गर्ने पनि जानकारी दिएका छन् । प्रतिष्ठानका चिकित्सक, नर्स, हेल्पर, उनीरुका परिवार गरी हालसम्ममा ६० जनाभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।