३१ भाद्र, धरान ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारारत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
मंगलवार बिहान १०ः४६ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका ती व्यक्तिको आज बिहान ६ः१० बजे मृत्यु भएको हो। मृतक सप्तरीको खडक नगरपालिका ३ नम्बर वडाका ३५ वर्षीय पुरुष हुन् । अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले दिएको जानकारी अनुसार भदौ २८ गते ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको हो। मृगौलाको समस्या भएर विगत एक वर्षदेखि सातामा दुई पटक डायलासिस गराइरहेका उनमा उच्च रक्तचापको पनि समस्या थियो।
यससँगै बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।