१० असोज, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) बाट झण्डै २० लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ ।
डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले सो चेतावनी दिएका हुन् । उनले अन्तर्राष्ट्रिय एकता बलियो भएमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या सोचेभन्दा कम हुने बताएका छन् ।
कोरोना संक्रमणका कारण हालसम्म विश्वभर करिब १० लाख मानिसको मृत्यु भइसकेको छ । यसैगरी कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या तीन करोड २० लाखभन्दा धेरै छ । अमेरिकामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ ।
रायनले कोरोना महामारी रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै सबथोक नभएको बताए । त्यसका लागि सबै देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि सम्भव भएसम्मका सबै उपाय कडाइका साथ अपनाउनुपर्नेमा उनले जोड दिए ।
केही समय थोरै मानिसमा संक्रमण देखिए पनि हाल भने संक्रमितकोे संख्या बढ्न थालेको छ ।