१९ असोज, बुटवल । विहान १० बजे सुरु भएको प्रदेश ५ को प्रदेशसभाको सर्वदलीय बैठक १० मिनटमै बिनानिष्कर्ष टुंगीएको छ ।
बैठक बस्ने वित्तिकै नेपाली कांग्रेसले केही दिन प्रदेशसभा स्थगित गरेर राजधानीबारे छलफल गर्ने र सहमति जुटाउने प्रस्ताव गरेको थियो । नेकपाले प्रदेशसभा स्थगित गर्न नमानेपछि कांग्रेस सदस्य बैठकबाट बाहिरिएका छन् ।
बिहान ८ बजे बोलाएको बैठक सवा दश बजे सुरु भए पनि १० मिनेटमै सकिएको नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले बताइन् । नेकपा आफ्नै राजधानी सार्ने विषयमा आफ्नै अडानमा रहेको र बैठक स्थगित गर्न पनि नमानेकाले कांग्रेस बैठकबाट बाहिरिएको उनले बताइन् ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालले पनि केही दिन प्रदेशसभा स्थगित गर्न आग्रह गरेको छ । संसदीय दलका प्रमुख सहसराम यादवले जनता सडकमा उत्रिएका बेला एकलौटी ढंगबाट राजधानी तोक्न नहुने बताए ।
नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले भने पहिलो बैठक बिनानिष्कर्ष टुंगिए पनि पुनः बैठक बस्ने तयारी गरेको बताए । सहमतिको प्रयास जारी रहेकाले प्रदेशसभा बैठक स्थगित नहुने उनले बताए ।
सभामुख पूर्णबहादुर घर्तीले पनि सदन निर्धारित समयमै सुरु हुने बताए ।
यसैबीच नेपाली कांग्रेसको संसदीय दलको बैठक भरखर सुरु भएको छ । बिहान ९ बजे संसदीय दलको बैठक बोलाए पनि सर्वदलीय बैठक बस्न र केन्द्रको निर्देशन आउन ढिला गरेकाले बैठक भर्खर सुरु भएको हो । बैठकमा सहमतिबिना प्रदेशसभा चले कांग्रेस कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भइरहेको सचेतक निर्मला क्षेत्रीले बताइन् ।
प्रदेशसभाले भने दिउँसो १२ बजे प्रदेशसभा बैठक बोलाएको छ । जसमा सरकारले लगेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ ।
राजधानी दाङ लैजान लागेको विरोधमा बुटवलमा सोमबार बिहानैदेखी धर्ना र प्रदर्शन भइरहेको छ । राजधानी सार्न लागेको विरोधमा उत्रिएको नेपाली कांग्रेस र रुपन्देहीका व्यावसायिक एवं पेसागत संघसस्थाले छुट्टाछुट्टै रुपमा प्रदर्शन सुरु गरेका हुन् ।
संयुक्त संघर्ष समितिले बिहान १० बजेदेखि प्रदेशसभा अगाडि धर्ना दिने कार्यक्रम थियो । प्रदेशसभा आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर पस्न नदिएपछि उनीहरुले पूर्व–पश्चिम राजमार्गबाट प्रदेशसभा पस्ने सडक सिन्दुर होटल अगाडि धर्ना दिएका छन् ।