२१ मंसिर, काठमाडौँ ।
कोरोना सङ्क्रमणको उपचारमा दोहोरो शुल्क लिने अस्पतालहरूलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको मिडिया विफ्रिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले सरकार र सेवाग्राही दुवै पक्षबाट शुल्क लिने गरेका अस्पतालहरूको अनुगमन तथा कारबाही गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको जानकारी दिए ।
प्रवक्ता प्रा.डा गौतमले कोरोना सङ्क्रमणको उपचारका लागि सूचीकृत अस्पतालहरूले दोहोरो शुल्क लिइरहेको जनगुनासो आएकाले अस्पतालहरूको अनुगमन गरी कारबाहीका लागि केस व्यवस्थापन कार्यदलले आवश्यक कार्य गर्ने गराउने जानकारी दिए।
यस्तै सबै प्रदेशहरूमा उच्चस्तरीय सेवा व्यवस्थापन तथा एम्बुलेन्स व्यवस्थापन समिति, केस छानबिन तथा कनट्र्याक्ट ट्रेसिङ समिति, सूचना तथा जोखिम सञ्चार सम्बन्धी समिति र चिकित्सा सम्बन्धी कार्यदल बनाएर काम गर्न गराउन अनुरोध गर्ने निर्णय भएको प्रवक्ता प्रा.डा गौतमले बताए ।
देशभर १७५२ जना कोरोना संक्रमण मुक्त
आज देशभर थप एक हजार सात सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको कूल सङ्ख्या २ लाख २५ हजार ८ सय ५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तत्याँङ्क अनुसार हालसम्म संक्रमण मुक्त हुनेको दर ९३ दशमलव ७ प्रतिशत रहेको छ ।
आज थप एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ६ हजार चार सय ९५ वटा पिसिआर परीक्षण गर्दा ६ सय ८८ पुरुष र ४ सय ८ महिलामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या दुई लाख ४० हजार ९ सय ८१ पुगेको छ । हाल देशभर १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ हजार ४ ६१ जना होम आइसोलेसनमा रहेका छन् भने ३ सय १३ जनाको आई.सी.यु मा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमण कारण आज थप १७ जनाको मृत्यु भएसँगै संक्रमण पछि मृत्यु हुनेको कुल सङ्ख्या १ हजार ५ सय ९४ पुगेको छ ।