२९ मंसिर, एजेन्सी ।
भारतमा ‘दिल्ली चलो’ आन्दोलनको १८ दिन पुरा भएको छ ।
केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी नयाँ कानूनको विरोधमा भारतीय किसानहरुले आन्दोलन जारी राखेका छन् । यसबिचमा सरकार र किसानबिच भएका वार्तामा कुनै पनि सहमति भएका छैनन् ।
पञ्जाब, हरियाण, राजस्थान, महाराष्ट्र, गुजरातसहितका राज्यका किसान आन्दोलित भएका छन् । आन्दोलित किसानले सोमबार दिल्ली–जयपर राजमार्ग बन्द गरेका छन् । उनीहरुले राजमार्गमा बसेर प्रदर्शन गरेका छन् ।
कृषि बिलहरुको विरोधमा आज किसान संगठनका नेताहरुले एक दिनको अनसन पनि राखेका छन् । आन्दोलित किसानले दिल्लीको मार्ग रोकेको भए पनि हरियाणा पुलिसले उनीहरुलाई राजस्थानसँग जोडिएको सीमामै रोकेको छ ।
सो प्रदर्शनको नेतृत्व किसान युनियनको संयुक्त मोर्चासँग जोडिएको नर्मदा बचाउ आन्दोलनकी मेधा पातकर, स्वराज इन्डियाका योगेन्द्र यादवसहितका व्यक्तिले गरेका छन् । अहिले दिल्ली–जयपुर राजमार्ग बन्द रहेको छ । यस्तै हरियाणाबाट दिल्ली आउने सबै सडकमा किसानले प्रदर्शन तथा धर्ना गरेका छन् ।
सरकारले ल्याएका तीन कृषि कानून किसान विरोधी र व्यवसायिक घरानालाई पोस्ने खालको रहेको आन्दोलित किसानको आरोप छ । आइतबार नरेन्द्र मोदी सरकारको तर्फबाट भनिएको थियो कि कृषि मन्त्री नरेन्द्र तोमरसँग भेटेर केही किसान संगठनले नयाँ कृषि कानूनको समर्थन गरेका छन् ।
आन्दोलनमा रहेका किसान युनियनहरुले कानूनको समर्थन गर्ने किसान संगठनसँग आफूहरुको कुनै सम्बन्ध नरहेको बताएका छन् । भारतीय किसान युनियनका गुरमान सिंहले कृषि कानूनको समर्थन गर्नेहरु सरकारको जालमा आएको बताएका छन्।
