ललितपुर फुटबल संघका अध्यक्षको निलम्बन फुकुवा

ललितपुर फुटबल संघका अध्यक्षको निलम्बन फुकुवा

६ माघ, काठमाडौं ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ।

आफ्नो १९औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त गरेको हो। अनुशासनको कारण देखाउँदै थापालाई एन्फाले गत जेठ ५ गते निलम्बन गरेको थियो।

थापाले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै एन्फाले उनलाई कारवाही गरेको हो। एन्फा पदाधिकारीलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै अध्यक्ष थापालाई कारवाही गर्ने निर्णय गरेको थियो।

आफूमाथि गरिएको कारवाहीका विरुद्ध थापाले राष्ट्रिय खेलकूद परिषद् (राखेप), विश्व फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) मा समेत उजुरी दिएका थिए।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले साधारणसभासम्मका लागि मात्र थापालाई निलम्बन गरिएको जानकारी दिए। एन्फाको साधारणसभा आजदेखि शुरु भएको छ।

एन्फाले मनाङ, खोटाङ र नवलपरासी पूर्वलाई आफ्नो सदस्यता प्रदान गर्नका लागि साधारणसभामा प्रस्ताव प्रस्तुत गरेको छ। साधारणसभाले सो प्रस्ताव पारित गरेमा एन्फाको सदस्य प्राप्त गर्ने जिल्लाको सङ्ख्या ४८ पुग्नेछ।

यस्तै कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा गठन गरिएको तदर्थ समितिलाई समेत एन्फाले मान्यता दिने निर्णय गरेको छ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.