झगडा गर्ने, सिघौरी खेल्ने, भूईँ खोस्रिने बानी परेकाहरु हटेः प्रधानमन्त्री ओली

झगडा गर्ने, सिघौरी खेल्ने, भूईँ खोस्रिने बानी परेकाहरु हटेः प्रधानमन्त्री ओली

२२ माघ, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबल सहित बहुमत ल्याउने ढंगले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । विहिबार काठमाण्डौमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई काम गर्न नदिने केही व्यक्ति पार्टी छोडेर जादैमा आत्तिनु नपर्ने भन्दै कार्यकर्तालाई ढाडस दिए ।

आगामी निर्वाचनमा बहुमत ल्याउछौ भन्ने मनोबल साथ अघि बढ्न निर्देशन दिए । उनले भने“सान्दार बहुमत ल्याउनु पर्दछु । कसैले ठान्ला पार्टी फुटेको छ कसरी बहुमत ल्याउँछ ? ३ करोड मान्छेमा २÷४ जना जाँदैमा पार्टी फुट्यो ? आत्तिनु पर्दैन । मनोबल गिराउनु पर्दैन । हामी जित्न सक्छौ । हामीले जित्नुपर्छ र हामीले जित्छौ । यो मनोबलका साथ अगाडि जान अनुरोध गर्दछु । ” उनले विवाद गर्ने र झगडा गर्नेहरुले पार्टी छोडेकाले अब आगामी दिनमा पार्टी आन्तरिक सुद्धिकरण सहित सुदृढ हुदै अघि बढ्ने दाबी गरे । उनले भने “विवाद गर्नेहरु, झगडा गर्नेहरु, झगडा गर्र्ने बानी परेकाहरु, मुद्धा लड्ने बानी परेका,सिघौरी खेल्ने बानी परेका, भूईँ खोस्रिने बानी परेका, गालीगलौच गर्ने बानी परेका, मुख छाड्ने बानी परेका, जहिले जहाँ पुगेपनि निहुँ खोज्ने बानी परेका हटे । अब आन्दोलनलाई एकजुट बनाएर लाने हो । मै हुँ म भन्ने केहीले पार्टी छोड्दैमा यो आन्दोलन समाप्त हुदैन । अझ बलियो भएर जान्छ । अझै सुद्धिकरण र सुदृढीकरण भएर जान्छ ।”

कम्युनिष्ट आन्दोलनका सबै भन्दा ठूला विरोधी प्रचण्ड माधव समूह हुन्
प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलनका सबै भन्दा ठूला विरोधी प्रचण्ड माधव समूह भएको बताए । कम्युनिष्ट कै खोल ओढेर कम्युनिष्ट आन्दोलनको विरोध गर्ने समूहले विगतमा पनि कम्युनिष्ट आन्दोलनलाई पटक पटक बदनाम गर्ने काम गरेको दाबी गरे । उनले भने “मान्छे विग्रियो भने कहाँ पुग्छ ? आज कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी को छ भने कम्युनिष्टकै बर्को ओडेर उहाँ बाटामा बसेको छ । कम्युनिष्टकै बर्को ओडेर बाटामा बस्ने र कम्युनिष्ट आन्दोलनकै सबभन्दा बढी विरोधी । लोकतन्त्र, कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट एकताको विरोधी सबभन्दा को छ भन्दाखेरी कम्युनिष्टकै खोल ओढेकाहरु । विगतमा पनि दुख दिए । विगतका आन्दोलनहरुलाई पटक पटक बद्नाम गराए वा ध्वस्त पारे । जनताले सुन्न नसक्ने गरि म्युनिष्ट आन्दोलनलाई बदनाम गराए । कम्युनिष्ट आन्दोलन भनेको निर्दयी, हृदयहिन, मानवता नभएको स्वार्थका लागि जे पनि गर्न हुन्छ भन्ने खालको भन्ने प्रभाव दिने गरी उपद्रो मच्चाए । ”

माधव नेपालले सुकुम्बासी समस्या समाधान गर्न दिएनन्

प्रधानमन्त्री ओलीले विहिबार पनि भूमि व्यवस्था र सुकुम्बासी समस्या समाधान गर्ने आफ्नो नेतृत्वको सरकारको अभियानलाई नेता माधव नेपालले अघि बढ्न नदिएको प्रसंग दोहोर्याए । उनले भने “यसपटक पनि उहाँ कपाल लुछीलुछी, छाति पिटी पिटी किन रुनुभएको छ ?आयोग बन्यो अब किसानको केही हुने भो उहाँलाई पिर परेको छ । उहाँलाई कृषि के हो ? हलो त समातेको छैन कहिल्यै । के बुझ्नु ? नजोति खान पाएपछि किन बुझ्नु ?”

आफ्नै कार्यकर्ता नियुक्त गर्दा नि माधव नेपालले आफ्ना पक्षधरको कुरा उठाएर अवरोध श्रृजना गर्ने गरेको प्रधानमन्त्री ओलीले बताए । उनले भने “माधव नेपाल हो जसले किसानका समस्या समाधान गर्न दल बहादुर आफ्नै मन्त्री अनि शारदा सुवेदीलाई मेरो होइन भन्नुभयो । पछिल्लो समय पनि उहाँले दिएको दुख त्यही हो मेरा मान्छे । मेरा पक्षधर । यसपटक पनि उहाँहरुले खुब रोक्न खोज्नुभयो । पर्नुभो फेला पद्मा अर्यालको । देवी ज्ञवाली कसको मान्छे ? मेरो मान्छे हो ? मेरो त जात, गोत्र ठेगाना केही पनि मिल्दैन । पार्टीको मान्छे हो ।”

जनताले कति दुःख पाए भनेर प्रचण्डले गाडी चढेर रमिता हेरे

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाललाई अनावश्यक रुपमा हप्की दप्की नगर्न र कानूनको पालना गर्न सुझाव दिए । प्रचण्ड माधव समूह आक्रामक ढंगले अघि बढेको तथा नियम तोड्ने धाकधक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिडेको उल्लेख गर्दै उनले अब ‘कानून मान्दिनँ’भन्ने जमाना नभएको बताए ।

उनले भने “कानूनको पालना गर्नुहोस् हप्की दप्की गर्ने होइन । पालना गर्न सिक्नुहोस् कानुनको । लोकतन्त्र भनेको कानूनको राज हो । बलमिच्याईँको राज होइन । प्रचण्डलाई म सम्झाउन चाहन्छु । ती दिन गए जतिबेला तपाई संविधान मान्दिनँ, कानून मान्दिनँ भनेर उपद्रोप मच्चाएर हिड्नुभएको थियो । त्यो जामाना गयो । अब कानूनको पालना गर्नुहोस् । अदालतलाई, निर्वाचन आयोगलाई धम्क्याएको छ । हामी यहाँ छौ भनेर ।”

आमहड्ताल आव्हान गरेर प्रचण्ड माधव समूहले जनतालाई दुख दिएको र आफुहरु चाँही गाडी र मोटरसाईकलबाट जनताले पाएको दुखको तमासा हेर्दै हिडेको बताए । उनले कार्यकर्ता नभएर नेताहरु आफै सडकमा उत्रिएको भन्दै व्यंग्य गरे । उनले भने “बाटाका छेउमा ल्याएर बेचिराखेको तरकारी सडकभरी फ्याकेर क्रान्तिकारीता देखाउनुभयो । अरुका गाडी जलाउनु भो आफु गाडी सयर भएर तमासा हेर्दै जनताले कति दुख पाएका छन् हँ भनेर ? गाडी चढेर तमासा हेर्दै हिड्नुभयो । अर्को गाडी चढ्न अलि भएन, आफैले बन्द गर्या गाडी नै त नचढुँ भनेर बाईक सम्म त हुन्छ भने र बाईक लिएर हिड्र्दै जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिड्नु भो । कार्यकर्ता सिद्धिएछन् कार्यकर्ता यता छन् कहाँ बाट होस् त उता । कार्यकर्ता सिद्धिएछन् अनि आफै हामी यहाँ छौ भन्ने एउटा टास्यो । अनि गाडी रोक भनेर को उभिएको छ भनेर हेरेको त प्रचण्ड उभिईराखेको । उभिएको कस्तो ठाउँमा फेरी सातदोबाटोमा । साईनबोर्ड लिएर । कार्यकर्ता छैनन् सिद्धिएछन् । आफै उत्रनुभयो । ”

प्रधानमन्त्रीले स्वीकारोक्ति -कृषिको करोडौ अनुदान टाठाबाठाले पाए

प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र व्यवसायीकरण नै मुलुकको प्रमुख आवश्यकता रहेको बताए । तर विगतमा कृषि आधुनिकीकरणको नाममा दिईने बास्तविक किसानको हातमा नपुगेको बताए ।उनले भने “कृषिमा करोडौ अनुदान लिनेहरु या त किसानै छैनन् या त्यसको सदुपयोग गरेका छैनन् । करोडौ अनुदान पाउने टाठाबाठाले हो । श्रेस्ता मिलाउन जान्नेले हो । प्रतिशनत मिलाउन जान्नेले हो । कति लिएर कति छोडेर कसरी लिन सकिन्छ । त्यो बुझेकाहरुले हो । अथवा त्यस अनुदानको सदुपयोग होइन । दुरुपयोग हो । दुरुपयोग हुने किसिमको नक्कलि अनुदानमा सरकारले नजर राखेको छ । कडाई गरेको छ ।” उनले किसानहरुका समस्या समाधान गर्न सरकार गम्भीर ढंगले लाग्ने प्रतिवद्धता जनाए । सहकारीको अवधारणा अनुसार सहकारी अभियानमा लागेर कृषिमा सामुदायिक अनुदान लिनेतर्फ सामुदायिक प्रयासमा लाग्न पनि उनले सुझाव दिए । सरकार कृषिको आधुनिकीकरण गर्न स्पष्ट दृष्टिकोण सहित अघि बढेको उनले स्पष्ट पारे ।

उनले काठमाण्डौको किसान भेलाले पुर्नजागरण र नयाँ जागरणको संकेत गरेको उल्लेख गर्दै किसान आन्दोलन संगै राजनीतिक जागरणलाई पनि देशव्यापी अघि बढाउन निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले ६९ बर्षको इतिहास भएको किसान संगठनको विगत देखि वर्तमानसम्म गरेको आन्दोलन र किसान जागरणको पनि चर्चा गरे । उनले विगतमा कम्युनिष्ट आन्दोलन नै किसान आन्दोलनमा अडिएको स्मरण गरे । आफ्नो सम्बोधनको अधिकांश समय किसान आन्दोलनको विभिन्न कालखण्डको चर्चामा खर्च गरेका प्रधानमन्त्री ओलीले उनीहरुको जागरण र योगदानको पनि प्रशंसा गरे । उनले जमिन, पानी र सामथ्र्यको अत्याधिक सदुपयोग गर्न र जमिन खेर नफाल्न सुझाव दिए । प्रधानमन्त्री ओलीले शुक्रबारको कार्यक्रममा सबैलाई उपस्थित हुन पनि निम्तो दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.