१ फागुन, ओखलढुंगा ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार रुपैयाँ पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशंखुगढीमा नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढावा दिने तयारी गरिए पनि पार्टीभित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो सम्भव नभएको भन्दै उनले आगामी दिनमा सरकारले लक्ष्यअनुसार काम गर्ने उल्लेख गरे । उपप्रधानमन्त्री पोखरेलले काम गर्न नदिएर सरकारलाई असफल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानु परेको बताए ।
उनले अघिल्लो निर्वाचनमा प्रधानमन्त्री ओलीको हस्ताक्षरबाट उम्मेदवारी सिफारिस भएको स्मरण गर्दै विगतदेखि नै पार्टीको नेतृत्व ओलीले गरेकाले अहिले पनि ओली नेतृत्वको नेकपा नै आधिकारिक हुने बताए । सूर्य चिह्न पनि ओली नेतृत्वको नेकपाकै हुने उनले जिकिर गरे ।