१८ असार, एजेन्सी ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव एवं राष्ट्रपति सी जिनपिङले चीन कसैसँग नझुक्ने र कसैको दबाबमा नपर्ने बताएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को एक सयौँ वर्ष पूरा भएको अवसरमा बेइजिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिनियाँ नागरिकलाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने दाबी गरे ।
उनले चीनलाई दबाउने दृष्टि राख्नेलाई ठूलो नोक्सानी हुने चेतावनी पनि दिएका छन् । राष्ट्रपति सीले चीनलाई दबाउने कोशिस गर्नेले एक अर्ब ४० करोडभन्दा धेरै चिनियाँ नागरिकले तयार पार्ने विशाल फलामे पर्खालसँग टकराउनु पर्ने चेतावनी दिए । यस्तै, उनीहरुले आफूहरु शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने भन्दै चीनलाई धम्क्याउन खोज्ने शक्तिसँग नतर्सिने बताएको बीबीसीले जनाएको छ ।
यस्तै, सीले आफूहरुले कुनै पनि देशलाई दुःख दिने, सताउने या अधीनमा पार्ने काम कहिल्यै नगरेको भन्दै चीन सधै विश्वमा शान्ति कायम राख्ने पक्षमा रहेको बताए ।
