४ असाेज, पर्वत ।
नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युत् महसुल तिर्न बाँकी रहेका ग्राहकको लाइन् कट्ने भएको छ । पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल नबुझाउने उपभोक्ताको विद्युत् लाइन कटौती गर्ने अभियान सुरुवात गरेको हो ।
विद्युत् महसुल तिर्न मोटो रकम उठ्न बाँकी रहेकाले ६० दिनभित्रमा महसुल नतिरेमा लाइन काटिने र तिरेपछि मात्रै विद्युत् जडान गर्ने अभियान थालिएको वितरण केन्द्रका निमित्त प्रमुख प्रकाश काफ्लेले जानकारी दिए ।
पर्वत वितरण केन्द्रका प्रमुख काफ्लेले जिल्लाभर यो अभियानलाई कडाइका साथ सञ्चालन भइरहेको बताए । काफ्लेका अनुसार पाउनुपर्ने रकम कति छ भनेर हिसाब निकाल्ने काम भइरहेको छ । बक्यौता रहेकाहरूको खोजी गरेर लाइन काट्ने काम भइरहेको छ ।
अभियान अन्तर्गत सदरमुकाम कुश्माबजारमा मात्रै २३ जनाको विद्युत् लाइन कटौती गरिएको काफ्लेले जानकारी दिए । तीमध्ये २० जनाले कार्यालयमा आएर बक्यौता भुक्तानी गरेको उनले बताए ।
२० जनाबाट दुई लाख ६ हजार ८० रुपैयाँ असुल भएको पनि काफ्लेले जानकारी दिए । हालसम्म विद्युत् लाइन काटिएका सबै निजी क्षेत्रको रहेको भन्दै काफ्लेले सरकारी कार्यालयको पनि बक्यौता देखिए लाइन काटिने बताए ।