१२ फागुन, एजेन्सी । रुसले गरेको बम आक्रमणमा सात जनाको ज्यान गएको युक्रेनको प्रहरीले बताएका बीबीसीले बताएको छ ।
पोदिल्स्कमा रहेको एक सैनिक अड्डामा भएको आक्रमणमा ६ जना मारिएका र सात जना घाइते भएका अधिकारीहरूले बताएका छन् । अन्य १९ जना हराइरहेका बीबीसीमा उल्लेख छ ।
युक्रेनी प्रहरीका अनुसार मेरियोपोलमा अर्का एक जनाको ज्यान गएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज बिहीवार बिहान युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए ।
त्यो घोषणापछि रुसले युक्रेनका सैनिक अड्डाहरूमा आक्रमण गरेको हो । युक्रेनले पनि यसको पुष्टि गरेको छ र केही ठाउँमा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ ।
यद्यपि रुसले भने नागरिक रहेका क्षेत्रमा आक्रमण नगरेको बताएको छ ।
यसैबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालीन बैठकमा सदस्य राष्ट्रहरूले दुवै देशलाई संयम रहन सुझाव दिएका छन् । केही देशले कुटनीतिक माध्यमबाट समाधान निकाल्नुपर्ने बताएका छन् ।
