४ चैत्र, एजेन्सी ।
पूर्वी चीन सागरमा अमेरिका र चीनबीच तनाव बढ्न थालेको छ।
चिनियाँ सैन्य स्रोतका अनुसार अत्याधुनिक चिनियाँ र अमेरिकी लडाकु विमान धेरैपटक पूर्वी चीन सागरमा आमनेसामने भएका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार यसले पछिल्लो समय अमेरिका र चीनबीचको तनाव उत्कर्षमा पुगेको देखाएको छ।
अमेरिकी हवाई सेनाका जनरलले यसअघि अमेरिकी लडाकु विमान एफ–३५ कम्तीमा एकपटक चिनियाँ लडाकु विमान जे–२० स्टिल्थको निकै नजिक आएको बताएका थिए। पूर्वी चीन सागमा भएको यो जम्काभेटमा चिनियाँ विमानबाट अमेरिकी पक्ष ‘प्रभावित’ भएको अमेरिकी अधिकारीले बताएका थिए।
अमेरिकी प्यासिफिक एयर फोर्सका कमाण्डर केनेथ विल्सबाचले दुई मुलुकमा लडाकु विमान आमनेसामने भएको मिति भने खुलाएका छैनन्। यद्यपि स्रोतका अनुसार सन् २०२० का अन्तिम ६ महिनामा धेरैपटक अमेरिकी र चिनियाँ लडाकु विमानहरु आमनेसामने भएको उल्लेख गरेका छन्।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम समयमा यस किसिमका घटनाहरु धेरै देखिएको स्रोतको भनाइ छ। मंगलबार युट्युबमा राखिएको भिडियोमा अमेरिकी जनरल विल्सबाचले आमनेसामने हुँदा अमेरिकी सैनिकले जे–२० लडाकु विमानको क्षमताको आकलन गरेको उल्लेख गरेका छन्।
कमाण्ड र कन्ट्रोलको मामिलामा एफ–३५ को तुलनामा जे–२० राम्रो रहेको उनको भनाइ छ। विल्सबाचले चीनले के प्रयोजनका लागि उक्त विमान बनाएको थाहा नभए पनि यो विमान एफ–३५ जस्तै रहेको र यसमा आकाशबाट जमिनमा प्रहार गर्न सक्ने क्षमता रहेको विल्सबाचले बताएका छन्।
विल्सबाचले चीनको केजे–५०० एयरबोर्नले समयमा नै चेतावनी दिने र लामो दूरीको प्रक्षेपणमा विमान कन्ट्रोलमा राख्ने गरेको पनि उल्लेख गरेका छन्। पछिल्लो समय अमेरिका र चीनबीच ताइवानको विषयमा बढेको तनावलाई लिएर चीन र अमेरिकाबीच सैन्य टकराव उत्पन्न हुन सक्ने जानकारहरुले चिन्ता व्यक्त गरेका छन्।
सन् २०२० को मार्चयता चीनले निरन्तर केजे–५०० र जे–२०एसले निरन्तर पूर्वी चीन सागरमा गस्ती गर्दै आएको छ। विल्सबाचका अनुसार चिनियाँ लडाकु विमानले आकाशबाट केजे–५०० को सहयोगमा मिसाइल पनि प्रहार गर्न सक्छ।
चीनले सन् २०२० बाट व्यावसायिकरुपमा जे–२०एस विमानको उत्पादन सुरु गरेको हो।
