नेपालगञ्ज, १ वैशाख नेपालगञ्जको सुर्खेत रोडमा गत सोमबार राति कारको ठक्करबाट तीन जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयले बीपीचोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले नेपालगञ्जको बीपीचोक र धम्बोझी चोकको बीचमा ठक्कर दिँदा ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको थियो ।
कारले ठक्कर दिएलगत्तै घाइते भएका उनीहरूलाई त्यही कारमा राखेर चालकले नजिकैको नर्सिङहोममा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको कार र चालक इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
कारचालक प्रहरी अनुसन्धानमा रहे पनि उसमाथि कडा कारबाही र क्षतिपूर्ति माग्दै पीडितका घर परिवार र टोलवासीले टायर बालेर प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रहरी बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनामा संलग्न रहेका चालक र गाडी प्रहरी नियन्त्रणमा रहेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको बताए ।
‘कानुनी प्रक्रिया अघि बढेको छ । पीडकमाथि कारबाहीको प्रकृया अघि बढिसक्यो अनावश्यक बाटो अवरोध गरेर कुनै समाधान निस्कँदैन,’ अधिकारीले भने ।