२३ भदौ , एजेन्सी ।
एसिया कप २०२२ को फाइनल पाकिस्तान र श्रीलंकाबीच हुने भएको छ । पाकिस्तानले बुधबार भएको सुपर–४ को खेलमा अफगानिस्तानलाई एक विकेटले हराएपछि फाइनल समीकरण पूरा भएको हो । यस नतिजापछि अफगानिस्तानसँगै उपाधिको प्रमुख दाबेदार मानिएको भारत पनि युएईमा जारी टि२० एसिया कप २०२२ को सुपर फोरबाटै बाहिरिएको छ ।
जितका लागि १ सय ३० रनको लक्ष्य पाएको पाकिस्तानले १९.२ ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन बनाएको हो । पाकिस्तानका लागि नसिम शाहले ४ बलमा १४ रन बनाए । उनले अन्तिम दुई बलमा दुई छक्का प्रहार गरेका थिए । पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो ।
त्यसमा इब्राहिम जार्डनले सर्वाधिक ३५ रन बनाए । यससंगै श्रीलंका र पाकिस्तान समान ४–४ अंकका साथ फाइनलमा पुगेका छन् । भारत सुपर फोरमा अंक विहीन हुँदै बाहिरिएको हो । अब विहीबार भारतले औपचारिकताका लागि अफगानिस्तानसँग खेल्नेछ । यी दुई टोली मध्य विजयी टोलीको दुई अंक मात्र हुनेछ ।
भारत सुपर फोरमा पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । उक्त खेलमा भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । दोस्रो खेलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । भारतले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।
श्रीलंकासँगको हारसँगै भारतको फाइनल सम्भावना सकिएको थियो । अंक गणीतिय झिनो सम्भावना मात्र थियो । दुबै खेल पाकिस्तानले हारेको खण्डमा मात्र भारत फाइनलमा पुग्ने थियो । तर पाकिस्तानको जितसँगै भारत बाहिरिएको हो । अब पाकिस्तानले अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ । उक्त खेलले कुन टोली शीर्ष र दोस्रो स्थानमा रहने निर्धारण गर्नेछ । फेरि आइतबार नै श्रीलंका र पाकिस्तान उपाधिको लागि पनि खेल्नेछन् ।