टोपी लगाएपछि प्रचण्ड र रविसँग आयोगले माग्यो स्पष्टीकरण

२२ कात्तिक ७९, मंगलबार
Share this
755shares

२२ कात्तिक,काठमाण्डौ ।
निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुनः स्पष्टीकरण सोधेको छ । आचारसंहिता विपरित निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेपछि प्रचण्डलाई स्पष्टीकरण सोधेको हो ।

Advertisement

अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हसिया हथौडाको संकेत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा आयोगमा प्राप्त उजुरीका आधारमा सो स्पष्टीकरण सोधिएको आयोग जनाएको हो ।

निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ ।

Advertisement

निर्वाचन प्रचारप्रसारको लागि क्यापको प्रयोग गर्ने कार्यबाट निर्वाचन आचारसंहिताको उक्त दफा उल्लंघन हुने देखिएकाले पत्र प्राप्त भएको २४ घण्टाभित्र उहाँहरूलाई निर्वाचन आयोग नेपाल वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ ।

यसअघि पनि गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्न जाँदा पञ्चेबाजा प्रयोग गरेको विषयमा आयोगले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । टोपी प्रयोग गरेकै सम्बन्धमा आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेलाई पनि स्पष्टीकरण सोधेको छ ।

Advertisement

‘रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई’ भन्ने व्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आएको उजुरीका आधारमा लामिछानेलाई स्पष्टीकरण सोधिएको अयोगले उल्लेख गरेको छ । यस्तै पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इस्तियाक राईलाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राईलाई आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो । निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु)का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता अनुशार ‘कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने’ व्यवस्था स्मरण समेत आयोगले गराएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top