७ वैशाख , काठमाण्डौ ।
आयातीत वस्तुको आकारलाई केही नियन्त्रण गर्दा मुलुकको व्यापार घाटा कम भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म मुलुकको कुल व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ देखिएको छ । गत वर्ष यही अवधिको तुलनामा कुल व्यापार घाटा २ खर्ब २२ अर्ब ८६ करोडले कम छ ।
यद्यपी सरकारले आयातमा नियन्त्रण गरेका कारण अहिले व्यापार घाटा घटेको देखिए पनि अझै मुलुकबाट बाहिरिने वस्तुहरूको तुलनामा भित्रिने अधिक हुँदा व्यापार घाटा चुलिएको नै तथ्यांकले देखाउँछ । चालू आवको ९ महिनाको अवधिमा देशको कुल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ भएको छ ।
यसबीच, नेपाल भित्रिने वस्तुहरू अर्थात् कुल आयात १२ खर्ब १ अर्ब ५० करोडको हुँदा निर्यात भने १ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । निर्यातको तुलनामा आयात १० गुणाले बढी नै छ । तर गत आर्थिक वर्षको तुलनामा आयात १८.०८ प्रतिशतले घटेको छ ।
गत आवको सोही अवधिमा बाहिरी मुलुकबाट १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँबराबरको वस्तुहरू आयात भएको थियो । स्वदेशमै उत्पादन हुने कृषि उपजका वस्तुको आयातसमेत उच्च छ । नौ महिनामा तरकारीमात्रै २५ अर्ब २५ करोड ७३ लाख ४३ हजार रुपैयाँको आयात भएको छ ।
सो अवधिमा तरकारीको निर्यात ५० करोड १४ लाख ७८ हजार रुपैयाँबराबरको भएको छ । यसैगरी नेपालले ९ महिनामा ६६ करोड ८१ लाख ९६ हजारबराबरको जीवित जनावर आयात गर्दा १३ हजार रुपैयाँको मात्रै निर्यात गरेको छ । यस्तै, मासुजन्य पदार्थ पनि करिब ६६ करोड २६ लाख ५७ हजार रुपैयाँबराबरको आयात गरेको छ ।
आयातमा सबैभन्दा बढी हिस्सा पेट्रोलियम पदार्थको छ । चैत्रसम्ममा पेट्रोलियम पदार्थ २ खर्ब ६१ अर्ब ९ करोड रुपैयाँबराबरको भित्रिएको छ । यसपछि दोस्रो बढी आयातमा फलाम र स्टिल रहेको छ । जुन १ खर्ब ७३ करोड रुपैयाँबराबरको आएको छ । यता निर्यात भने गत आवको ९ महिनाको तुलनामा २६.३४ प्रतिशतले घटेको छ ।
गत आवमा १ खर्ब ६० अर्ब ५७ करोडबराबरको वस्तु नेपालबाट बाहिरिएकोमा अहिले सो दरले घटेर १ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ हाराहारीमा निर्यात भएको छ । निर्यात जतिसुकै भए पनि नेपाललाई खासै फाइदा पुग्न सकेको छैन । किनभने निर्यातमा आयातीत कच्चा पदार्थबाट प्रशोधित भएकै तेलको हिस्सा बढी छ ।
पाम र भटमासको कच्चा पदार्थ ल्याएर भ्यालु एड गरेर भारततर्फ निर्यात भएको छ । तथ्यांक हेर्दा प्रायः कुल निर्यातको आधा हिस्सा आयातीत वस्तु ल्याएर तयारी वस्तु पठाएकोले स्वदेशी उत्पादन कम देखिएको विज्ञहरू बताउँछन् ।