११ वैंशाख, काठमाण्डौ ।
बारा क्षेत्र नम्बर २ को सुरूवाती रुझानमा अगाडि देखिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पछि पर्न थालेका छन् । कलैयामा भइरहेको मतगणनाको पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६२८ मतसहित अग्रता कायम गरेका छन् ।
सत्ता गठबन्धनको साथ लिएर जसपाका उम्मेदवार यादव अहिले ५७ मतले पछाडि परेका छन् । उनले ताजा अवस्थामा ५ सय ७१ मत ल्याएका छन् । त्यहाँ नेकपा एमालेका पुरुषोत्तम पौडेल ५१० मतसहित तेस्रो स्थानमा छन्। अर्कातिर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २३६ मत ल्याएका छन् ।
त्यहाँ करैयामाई गाउँपालिका १ र सुवर्ण गाउँपालिका १ बाट मतगणना थालिएको थियो । यता चितवन–२ को इच्छाकामना गाउँपालिका वडा नम्बर १ र ३ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । दुईवटा वडाको २ हजार ४८४ मत गणना हुँदा लामिछानेले एक हजार १५५ मत पाएका छन् ।
एमालेका रामप्रसाद न्यौपानेको ६६५ मत आएको छ । त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत प्राप्त गरेका छन् । उता तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई १० हजार बढी मतले पछि पारेका छन् ।
आधा मत गणना भइसक्दा अर्थविद् वाग्लेले नेपाल प्रहरीका पूर्व आईजीपीसमेत रहेका खनाललाई १० हजार १३५ मतले पछि पारेका हुन् । क्षेत्र नम्बर १ मा पर्ने कुल ४२ वडामध्ये २१ वडाको मत गणना सम्पन्न हुँदा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् ।
एमाले उम्मेदवार खनालले ५ हजार मत पुर्याउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको मत ८ हजार ७३१ मत पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तनहुँ १ मा खसेको कुल मतमध्ये सोमबार दिउँसोसम्म २९ हजार ८०२ मतपत्र गणना भइसकेको जनाएको छ । आइतबार सम्पन्न मतदानमा यहाँ ६३ हजार ७५७ मत खसेको थियो । तनहुँको जिल्ला समन्वय समितिको सभाहलमा गए रातिदेखि मतगणना जारी छ ।