विराटनगर,भदौ ३०
उच्च अदालत विराटनगरले साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङको आदेश पछि थुनामा रहेका नेपाल प्रहरीका निलम्बित बरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । शुक्रबार सांझ उच्च अदालतका न्यायधिस नागेन्द्रलाभ कर्ण र सारङ्गा सुबेदीको संयुक्त इजलासले साधारण तारेखमा छाड्ने आदेश दिएको हो । लोहनीलाई गत जेठ ८ गते जिल्ला अदालत मोरङका न्यायाधिस नारायणप्रसाद शर्माको इजलासले सुन तस्करी प्रकरणका नाइके चुडामणि उप्रेती गोरेलाई सहयोग गरेको अभियोगमा पुर्पक्षकालागि कारागार चलानको आदेश दिएको थियो ।
जिल्लाको आदेश पछि लोहनीलाई क्षेत्रिय कारागार झुम्कामा राखिएको थियो । गत जेठ ७ गते जिल्लाको आदेश विरुद्ध लोहनीले उच्च अदालतमा निवेदन दिएका थिए । लोहनीको निवेदन उपर अदालतले शुक्रबार थुनामा राख्ने जिल्लाको आदेश बदर गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी राजकुमार दाहालले जानकारी दिए ।
उनी तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख थिए । प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितले उनलाई बयानका लागि बोलाएको थियो । र, १९ वैशाखमा उनी पक्राउ परेका थिए । उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको थियो । लोहनीसहित महाशाखाका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलले सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बचाउने प्रयास गरेको आरोप लागेको थियो ।
हराएको साढे ३३ किलो सुन खोजी गर्ने क्रममा गोरे र उनको समूहले शनम शाक्यलगायतलाई कुटपिट गर्नुका साथै करेन्ट लगाएका थिए । त्यही क्रममा शनमको मृत्यु भएपछि गोरेले शव व्यवस्थापनका लागि सञ्जेललाई गुहार मागेका थिए । त्यसका लागि केसी र सञ्जेलको टोली काठमाडौंबाट धरान मात्र पुगेन, आफूसँग २ करोडको डिल गरेको गोरेको बयान थियो । प्रकरणमा लोहनीसहित पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय केसी, सञ्जय राउत, सई सन्जेल, जवान विष्णुबहादुर खड्कासहित ६३ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको थियो ।