१७ माघ,विराटनगर।
धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ राई राजनीतिक नेताका रूपमा मात्र नभई गायन क्षेत्रमा समेत सक्रिय बन्दै गएका छन्। सामाजिक सञ्जालमा चर्चाका पर्याय बनेका मेयर हर्क कहिले खानेपानीका मुद्दामा आक्रोश पोखिरहेका हुन्छन् त कहिले आफ्नै शैलीमा गीत गाएर जनताको आवाज बुलन्द गरिरहेका हुन्छन्।
आफू कार्यालयमा भन्दा धरानका भिर पाखामा, बृक्षरोपण र पाइप तान्दै गरेको भेटिन्छु भन्न रुचाउने हर्कले धरानको खानेपानी समस्यालाई लिएर गरेको संघर्ष अझै चर्चामा छ। जब धरानवासीको तिर्खा मेट्न उनले रित्तो गाग्री बोकेर सिंहदरबारको गेटसम्म यात्रा गरे, त्यसपछि उनको आवाज झनै बुलन्द भयो।
खानेपानी मन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेललाई समस्या सुनाएपछि यो आर्थिक वर्षभित्रै समस्या समाधान गर्ने आश्वासन त पाए, तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाउँदा उनी निकै आक्रोशित बने।
“लोकतन्त्रमा जनप्रतिनिधिलाई नै भेट्न नदिने संस्कार गलत हो“ भन्दै उनी निराश भएर धरान फर्किए। तर, उनले यस घटनालाई केवल राजनीतिक आन्दोलनका रूपमा मात्र सीमित राखेनन्। आफ्नो संघर्षलाई सांगीतिक अभिव्यक्तिमा उतार्दै उनले “त्यो मेरो थोत्रे गाग्रीले तिमीलाई के सन्देश दियो?“ भन्ने गीत नै तयार गरेका छन् ।
उनको गीत छ:
त्यो मेरो थोत्रे गाग्रीले तिमीलाई के सन्देश दियो ?
त्यो मेरो थोत्रे गाग्रीले तिमीलाई के बुझायो?
त्यो व्यथा मेरो थिएन, त्यो व्यथा सारा नेपालको,
त्यो पीडा मेरो थिएन एक्लोको, त्यो पीडा सारा नेपालको।
हर्क धरान फर्किएपछि भने खानेपानी मन्त्रीको बोली फेरियो । हर्कको गाग्र्रीसहितको सांकेतिक विरोधलाई उनले ड्रामाको संज्ञा दिए । खानेपानी मन्त्री यादवले हर्कले खानेपानी समस्याका विषयमा ‘ड्रामा’(नाटक) गरेको आरोप लगाए ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले त्यसरी नाटक गरेर खानेपानीको समस्या समाधान पनि नहुने बताएका थिए । ‘धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर साम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम गर्नुभएको छ,’ मन्त्री यादवले भने, ‘यस्ता ड्रामा गर्नुभन्दा गम्भीर भएर काममा लाग्नु जरुरी छ।’
यद्यपि मन्त्री यादवले धरानको जनतालाई पानी दिने दायित्व सरकारको भएको र यस विषयमा सङ्घीय सरकारले काम अघि बढाउन लागेको पनि बताए । हर्कको गीतले सरकारप्रति रोष मात्र होइन आम नागरिकका पीडा र मागको प्रतिनिधित्व गरेको छ ।
पानीको अभाव झेलिरहेका धराने जनताको भोगाइलाई उनले सिर्जनात्मक रूपमा गीतमा ढालेका छन्। यसअघि पनि मेयर हर्क सम्पाङले “गुईठे ओ गुईठे“ बोलको गीतमार्फत व्यापक चर्चा कमाएका थिए। उनले यो गीत सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा भाइरल बन्यो।
मेयर हर्कका समर्थक मात्र नभई आलोचकहरूले समेत उनको गायनशैलीलाई रुचाउँदै आएका उनको गीतमा आएका प्रतिक्रियाहरुले दर्शाएका छन् । त्यस्तै, “मत छक्क पर्छु“ बोलको अर्को गीत पनि चर्चामा आयो।
साधारण भेषभूषा, सरल जीवनशैली र लोभलालचबिना जनताको काममा समर्पित देखिने मेयर हर्कको गायन मोहले उनलाई उनका समर्थकहरुले एक बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा हेर्ने गरेका छन् ।
राजनीतिक नेताले गीत गाउनु नौलो कुरा होइन। यसअघि पनि धेरै नेताहरूले गीत गाएका छन् । तर मेयर हर्क सम्पाङले आफ्नै संघर्ष र आफूमाथि उठ्न प्रश्नहरुलाई संगीतमा ढालेर सरकार र सम्बन्धित पक्षलाई घोचपेच गर्ने गरेका छन् ।
उनले आफ्नो थोत्रे गाग्री गीतमार्फत सरकारलाई कडा प्रश्नसहित सोधेका छन्, काम नगर्ने, गफ मात्रै गर्ने सरकारको नियति कहिलेसम्म? धरानका मेयर हर्क सम्पाङको गायन यात्रा एक सामान्य अभिव्यक्ति मात्र होइन, आफ्नै शैलीमा विरोध प्रदर्शन गर्ने, जनताको आवाज बुलन्द गर्ने र सरकारलाई खबरदारी गर्ने एउटा सशक्त माध्यम बनेको छ।