२४ असार , काठमाडौं ।
गत २१ जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसलमा गरेको एउटा पोस्ट भाइरल बन्यो । त्यो भाइरल पोस्टको सार थियो– ‘विश्वशान्तिकालागि धेरै प्रयास गरेको भएपनि मैले नोबेल शान्ति पुरस्कार पाउँदिन ।
’सो पोस्टमा उनले आफूद्वारा विश्वशान्तिका लागि गरिएका प्रयासबारे जिकिर गरेका छन् । कङ्गो र रुवान्डाबीच भएको सम्झौतादेखि लिएर भारत र पाकिस्तान बीचको युद्ध रोक्न आफूलेखेलेको भूमिका, सर्बिया र कोसोवो बीचको युद्ध रोक्न खेलेको भूमिका, इजिप्ट र इथियोपिया बीचको सम्झौता, अब्राह्म सम्झौता लगायतको चर्चा गर्छन् र यो कुनै पनि प्रयासका लागि नोबेल पुरस्कार समितिले शान्ति पुरस्कार आफूलाई नदिनेमा विश्वस्त रहेको दोहो¥याउँछन् ।
उनको जिकिरले नोबेल शान्ति पुरस्कारप्रतिको उनको मोहलाई प्रस्ट्याउँछ । अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार पाउने औधी इच्छा छ भन्ने उनको यो भित्री अभिव्यक्ति हो ।
उनले यसअघि पनि धेरै पटक आफ्नो इच्छा सार्वजनिक गरिसकेका छन् । उनको यो पछिल्लो पोस्टपछि पाकिस्तान सरकारले सार्वजनिक रुपमै अमेरिकी राष्ट्रपति ट्रम्पको नाम सन् २०२६ को नोबेल शान्ति पुरस्कारकालागि सिफारिस गरेको छ ।
तर पाकिस्ताने ट्रम्पको नाम सिफारिस गरेको केही घण्टा नबित्दै अमेरिकाले इरानमाथि बमबारी गर्छ र पाकिस्तान सरकार पुनःएकपटक अमेरिकी आक्रमणको निन्दामा उत्रन्छ ।
केही पाकिस्तानी अधिकारीहरु ट्रम्पको नाम शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तान सरकारको निर्णयप्रति आलोचना गर्छन् तर पाकिस्तान सरकार आफ्नो निर्णयमा अडिग नै छ ।
यसअघि एक युक्रेनी सांसदले ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका थिए । तर पछि उनले मनोनयन फिर्ता लिएका थिए ।
ट्रम्पको सारा ध्यान मध्यपूर्वमा रहेको र रुस–युक्रेन युद्धलाई बेवास्ता गरेको ती युक्रेनी सांसदको भनाइ थियो । ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्दा पाकिस्तानले दिएको तर्क अहिलेसम्म सर्वस्वीकार्य बन्न सकेको छैन ।
२२ अप्रिल २०२५ मा भारतको कश्मिरस्थित पहलगाममा भएको आक्रमणपछि सुरु भएको भारत–पाकिस्तान युद्ध रोक्न अमेरिकाले मध्यस्थता गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी छ ।
पाकिस्तानले पनि सो युद्ध रोक्न अमेरिकाको पहल महत्वपूर्ण रहेको भन्दै ट्रम्पको नाम सिफारिस गरेको हो । तर भारतले अमेरिकाको दाबीलाई खण्डन गर्दै आएको छ । पाकिस्तानसँगको युद्धविरामको निर्णयमा अमेरिकाको कुनै भूमिका नरहेको भारतको जिकिर छ ।
पाकिस्तानसँगको मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका वा मध्यस्थता अस्विकार्य हुने आफ्नो विदेश नीतिमा भारत अडिग रहेको सन्दर्भ भारतीय प्रधानमन्त्रीले बारम्बार दोहो¥याएका छन् ।
पाकिस्तानपछि ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने राष्ट्र इजरायल बनेको छ । मध्यपूर्वमा शान्तिका लागि गरेको प्रयास र इरान–इजरायल युद्ध रोक्न गरेको मध्यस्थतालाई ध्यानमा राख्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पको नाम सिफारिस गरेका हुन् ।
उनले नोबेल पुरस्कार समितिमा पठाएको पत्रको प्रतिलिपि ट्रम्पलाई हस्तान्तरण गरिसकेका छन् । यसका अतिरिक्त अन्य केही अमेरिकी र विदेशी राजनीतिज्ञहरुले पनि ट्रम्पको नाम सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेका छन् ।
फेरि किन अमेरिकी राष्ट्रपति ट्रम्प आफूले पुरस्कार पाउनेमा विश्वस्त छैनन् त ?यो प्रश्नको दुईवटा सिधा जवाफ छन् । एक यसअघि नोबेल शान्ति पुरस्कारका लागि मनोनित हुनु तर पुरस्कार नपाउनु ।
दोस्रोजवाफ हो स्वयं उनको विवादास्पद व्यक्तित्व । ट्रम्प पहिलो पटक नोबेल शान्ति पुरस्कारका लागि मनोनित भएका होइनन् । यस अघि सन् २०१८, सन् २०२० र सन् २०२३ गरी तीन पटक मनोनित भइसकेका छन् ।
तर उनले पुरस्कार पाउन सकेका छैनन् । अघिल्ला वर्षहरुको व्यवहार हेरेर हुनसक्छ ट्रम्प आफूले पुरस्कार पाउँछु भन्नेमा विश्वस्त छैनन्। अर्कोतिर ट्रम्पको व्यक्तित्व, अनुदार र कट्टर नेताको रुपमा चित्रित छ ।
राष्ट्रपतिको चुनाव जितेपनि उनीखासै लोकप्रिय र जनप्रिय नेता होइनन् । आफ्ना नीति र भड्काउ तथा आपत्तिजनक बयानका कारण उनी आलोचनाकै घेरामा रहन्छन् ।
अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा कार्यरत ट्रम्पको राष्ट्रपतिको रुपमा यो दोस्रो कार्यकाल हो ।सन् २०१७ देखि सन् २०२१ सम्म ४५ औं राष्ट्रपतिको रुपमा उनको पहिलो कार्यकाल थियो ।
रिपब्लिकन नेता ट्रम्पको विदेश नीति अघिल्लो पटक र अहिले पनि आलोचनामा देखिन्छ । उनी धेरैले कट्टर विचार भएको र अतिवादी सोचका व्यक्ति भनेर आम मान्छेको बुझाई छ ।
आप्रवासीका बारेमा उनको सोच र नीति मानवताविरोधी हुन् भनेर आलोचना हुने गरेको छ । उनको पहिलो कार्यकाल र अहिले चल्दै गरेको कार्यकालको मुख्य एजेण्डा अमेरिकाबाट आप्रवासीहरु लखेट्ने देखिन्छ ।
जसले एकातर्फ ठूलो समर्थन त पायो, तर अर्कोतर्फ अमेरिकी जनताको ठूलै जमात उनको विरुद्धमा छ । आप्रवासी मात्र नभएर अल्पसंख्यक समुदायहरुका लागि आफ्नो रुढिगत र अनुदार सोचका कारण पनि उनी विवादमा आइरहन्छन् ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि उनले दिएका कतिपय अभिव्यक्ति आपत्तिजनक छन् । आफ्नै देशमा सबैको साझा, लोकप्रिय, जनप्रिय र स्वच्छ छवि बनाउन नसकेका ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि छनौट हुने सम्भावना कमै हुन सक्छ ।
ट्रम्पका नीतिले शरणार्थी कार्यक्रमलाई पनि नराम्ररी प्रभावित गरेको छ । द्वन्द्वरत देशहरुबाट प्रक्रिया पुरा गरेर शरणार्थीका रुपमा अमेरिका जानेहरुका लागि ट्रम्प प्रशासन उदार देखिदैन ।
पूर्वराष्ट्रपति जो वाइडेनको कार्यकाल सन् २०२४ मा एक लाख शरणार्थी अमेरिका पुगेका थिए । तर ट्रम्पले पदभार ग्रहण गरेलगत्तै शरणार्थी कार्यक्रम रोके । ट्रम्पको यो व्यवहारलाई विभेदकारी भनि आरोप लगाइको छ ।
बीबीसीको एक रिर्पोट अनुसार गत जनवरीमा शरणार्थी कार्यक्रम रोकेका ट्रम्पले फेब्रुअरीमा भने दक्षिण अफ्रिकाका श्वेतहरुमाथि उनीहरुको देशमा नश्लीय विभेद भएको भन्दै शरणार्थीका रुपमा अमेरिका आउने बाटो खोलेका थिए ।
यसै कार्यक्रम अनुरुप अफ्रिकानर, अर्थात श्वेत दक्षिण अफ्रिकीहरु शरणार्थीका रुपमा अमेरिका पुगे । सबै प्रक्रिया पुरा गरिसकेका र लामो समयदेखि पर्खिरहेका अन्य देशका शरणार्थीका लागि यो दुःखमाथि थपिएको अर्को दुःख थियो ।
मानवअधिकारवादी विभिन्न संघसंगठनहरुले पनि कसैलाई काखा कसैलाई पाखा गरिन नहुने भनाइ राखे । कुनै एउटा समूहले सहयोग पाउने, तर चरम उत्पीडन, दमन र हिंसामा परेका अनि गम्भीर जोखिमको सामना गरिरहेकाहरुले सोही प्रकृतिको सहयोग नपाउनु निष्पक्षता र समानताको सिद्धान्त विपरित हुने उनीहरुको तर्क थियो ।
उनको दोस्रो कार्यकालयमा निकै चर्चा र विवादमा रहेको अर्को प्रसंग आर्थिक नीति हो । उनले करसम्बन्धी लिएका निर्णयहरुले सारा विश्वको अर्थतन्त्र प्रभावित छ ।
चीनसँग व्यापार युद्धको जस्तो अवस्थामै पुगेको अमेरिकाले विभिन्न साना देशहरुका लागि पनि करको दायरा निकै बढाएको छ । ट्रम्पको यो नीति धेरैका लागि सर्वस्वीकार्य छैन ।
यस बाहेक वैश्विक समस्याको रुपमा रहेको ग्लोबल वार्मिङ र क्लाइमेट चेञ्ज जस्ता मुद्दामा पनि ट्रम्प फरक धारमा उभिन्छन् । साझा वैश्विक समस्याको रुपमा रहेका यी मुद्दाहरुबाट धेरै पटक पन्छिन खोजेको र यी समस्याको अस्तित्व नै स्वीकार्न नचाहेको उनका विगतका अभिव्यक्तिहरुले प्रस्ट्याउँछ ।
विश्व स्वास्थ्य संगठन जस्ता संस्थाहरुलाई दिने गरेको अनुदान र अन्य अन्तर्राष्ट्रिय अनुदानहरुमा गरेको कटौती पनि विवादको विषय रहेको छ ।
यी तथ्यहरु डोनाल्ड ट्रम्पका लागि नोबेल शान्ति पुरस्कार पाउने चाहनामा बाधक बनेर खडा भएका छन् । नोबेल शान्ति पुरस्कार पाउने ट्रम्पको चाहना विरोधाभासले भरिएको छ ।
उनले आफूलाई शान्तिप्रिय बताइरहे पनि रुस र युक्रेन युद्ध अनि प्यालेस्टाइनको गाजा क्षेत्रमाथि इजरायलको आक्रमण ट्रम्पले नचाहेकै कारण नरोकिएको कुरा कसैसँग लुकेको छैन ।
नोबेल शान्ति पुरस्कार पाउने पछिल्लो अमेरिकी राष्ट्रपति बाराक ओबामा हुन् । बाराक ओबामा तिनै राष्ट्रपति हुन् जसको विदेश नीतिलाई ट्रम्पले सधैँ आलोचना गर्छन् ।
एकातर्फ आफूले नोबेल शान्ति पुरस्कारको चाह राख्ने, अर्कातर्फ जुन विदेश नीति र युद्ध नीतिले ओबामालाई नोबेल शान्ति पुरस्कार दिलायो, त्यसको विरोध गर्ने, यी दुई कुरा पनि एक–आपसमा मेल खाँदैनन् ।
हालसम्म चार जना अमेरिकी राष्ट्रपतिले नोबेल शान्ति पुरस्कार पाएको इतिहास छ ।सन् १९०६ मा थियोडोर रुजबेल्ट, सन् १९१९ मा उड्रो विल्सन, सन् २००२ मा जिम्मी कार्टर र सन् २००९ मा बाराक ओबामाले विश्व प्रसिद्ध नोबेल शान्ति पुरस्कार प्राप्त गरिसकेका छन् ।
यस पटक ट्रम्पले यो पुरस्कार प्राप्त गर्न सके नोबेल शान्ति पुरस्कार पाउने उनी पाँचौ अमेरिकी राष्ट्रपति हुनेछन् । युद्ध रोक्न वा विश्व शान्तिका लागि उनले केही महत्वपूर्ण प्रयास नगरेका भने होइनन् ।
सन् २०२० मा ट्रम्पको अध्यक्षतामा अब्राह्म सम्झौता भएको थियो । अमेरिका, इजरायल र युएईबीच भएको यो सम्झौताले पश्चिम एसियाको राजनीतिमा धेरै प्रभाव पारेको छ ।
यो सम्झौता पछि इजरायललाई युएई, बहराइन, सुडान र मोरक्कोले मान्यता दिएको थियो । जसका कारण यी देशहरुसँग इजरायलको कुटनीतिक तथा व्यापारिक सम्बन्ध सुरु हुन सक्यो ।
यस सम्झौतापछि मध्यपूर्वको संकट धेरै हदसम्म समाधान हुने आश राखिएको थियो । तथापि यस सम्झौताले इजरायल र प्यालेस्टाइन बीचको द्वन्द्व रोक्न सकेन ।
नोबेल शान्ति पुरस्कारका लागि फेब्रुअरी महिनासम्म मनोनयन दर्ता गराउन मिल्छ । अक्टोबरमा नोबेल पुरस्कार छनोट समितिले विजेताको नाम घोषणा गर्छ । डिसेम्बर १० मा पुरस्कार समारोह आयोजना गरिन्छ ।
नोबेल शान्ति पुरस्कारको लागि मनोनयन वा सिफारिस गर्ने व्यक्ति वा संस्थाका लागि पनि कुनै खास मापदण्ड छैन । कुनै देशको कार्यकारी पदमा रहेका व्यक्तिदेखि विदेश नीतिमा दखल राख्ने प्राध्यापक वा कुटनीतिज्ञसम्मले स्वविवेकका आधारमा कसैको नाम सिफारिस गर्न पाउँछन् ।
हरेक वर्ष सैयौंको संख्यामा नोबेल शान्ति पुरस्कारका लागि नाम सिफारिस गरिन्छ । तर मनोनयनमा परेकाको नाम ५० वर्षसम्म समितिले सार्वजनिक गर्दैन ।