२७ भदौ , काठमाण्डौ ।

सम्भवतः राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने छन् । संविधानको धारा ६१ (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ। संविधानको पालनकर्ता र संरक्षकका हिसाबले प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।

सुशीला कार्कीलाई यसअघि खिलराज रेग्मीलाई जस्तै, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्षका रूपमा नियुक्त गर्ने कि भन्नेबारे पनि छलफल चलेको थियो। निर्वाचन गराउन गठित अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष भन्ने कि प्रधानमन्त्री नै भन्ने भन्नेबारे पनि छलफल भएको थियो।

तर प्रधानमन्त्री नै भनौँ, संवैधानिक पद त्यही हो भनेर धेरैले सुझाएपछि राष्ट्रपति पनि त्यसमा सहमत भएका थिए । यसरी नियुक्त प्रधानमन्त्रीको मुख्य जिम्मेवारी निर्वाचन गराउने र अहिलेको आन्दोलनमा भएको दमन, त्यस क्रममा युवाहरूको मृत्यु भएको र त्यसपछिको विध्वंसको छानबिन गर्ने; यी दुई मुख्य काम हुने भनिएको छ।

नियुक्त प्रधानमन्त्रीले संसद् विघटन र चुनावको मिति सिफारिस गर्ने स्रोतले जनाएको छ । यसरी हेर्दा आजको जेनजी,सुशीला राष्ट्रपति र प्रधानसेनापति बीचको सामूहिक छलफलमा संसद विघटन गरेर जाने कि संसदसहित नागरिक अन्तरिम मन्त्रीपरिषद् गठन गर्ने विषयमा सहमतिपछि प्रधानमन्त्री नियुक्ति र सपथ हुने छ ।

यदि यो देशको सङ्कट मोचन गर्ने प्रमुख पात्र सुशीला कार्की भइन भने अब उनका लागि अरू सारथिहरूको पनि खोजी हुनु आवश्यक छ । अब बन्ने मन्त्री मण्डलमा कुलमान घिसिङ, डाक्टर सन्दुक रुइत, डाक्टर भगवान कोइराला, महावीर पुन जस्ता अभिभावकलाई अघि लगाएर जेनजी पुस्ताका नयाँ युवाहरू समावेश हुनु पर्दछ ।

अनि मात्र देशलाई एउटा बाटोमा हिँडाउन सकिन्छ । मन्त्रीका लागि जेनजीका तर्फबाट सुदन गुरुङ, बालेनका कानूनी सल्लाहकार ओमप्रकाश अर्याल लगायतको नाम पनि चर्चा छ । नेपाल यति बेला ऐतिहासिक मोडमा उभिएको छ।

संविधानले दिएको संरचना, लोकतान्त्रिक अभ्यास र सङ्घीय व्यवस्थालाई जेल्दै देशलाई नयाँ दिशातर्फ डो¥याउने अवसर मिलेको छ । त्यसको नेतृत्व महिलाको हातमा जाने निश्चित प्राय छ । तर यो अवसरलाई सुव्यवस्थित ढङ्गले प्रयोग नगरेसम्म अपेक्षित भविष्य सुनिश्चित हुँदैन।

नेपालले अब राजनीतिक स्थायित्व, सुशासन र समावेशी विकासको बाटो कोर्ने पर्ने बाध्यता अर्को तर्फ छ । त्यसका लागि एक जना पात्र मात्र सक्षम र सही भएर केही पनि हुदैन् । अब देशले पाउने मन्त्रीहरुपनि जेनजीले उठाएमा मुद्धाहरुमा मेल खाने खालका हुनु पर्छ ।

ती पात्रहरूको खोजीमा जेनजी फेरी कहीँ कतै चुके भने फेरि पनि देश र जनताको दूरदशा उस्तै हुने कुरामा दुई मत हुदैन् । नेपालको भविष्य स्थायित्व, पारदर्शिता र जबाफदेहितामा निर्भर छ। यहाँको लोकतन्त्र बलियो हुन्छ भने मात्र नागरिकको आशा पुरा हुन्छ।

यदि राज्यले सुशासन, न्याय र समान अवसर सुनिश्चित गर्न सक्यो भने नेपाल दक्षिण एसियामा नै समृद्धिको उदाहरण बन्न सक्छ। तर व्यक्तिगत स्वार्थ, भ्रष्टाचार र अस्थिरताले फेरी पनि देशको भविष्य धमिल्याउने सम्भावना पनि उत्तिकै रहन्छ ।

देशलाई अब शक्तिमा आधारित हैन नागरिकमा आधारित सरकार चाहिन्छ। यस्तो सरकारले मात्र जनताको आवश्यकता र आवाजलाई प्राथमिकता दिन सक्छ । नीति निर्माणमा पारदर्शिता र छलफलको प्रक्रिया अपनाउँछ । शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारमा काम गर्छ ।

युवालाई मातृभूमिमा नै गरी खाने अवसर प्रदान गर्छ । देशको अहिले आवश्यकता भनेको स्थायी सरकार नै हो । अब बन्ने सरकारले नयाँ निर्वाचन गराउँदा स्थायी सरकार बनाउने बाटो लिन्छ कि लिँदैन भन्ने कुराले मात्र नेपालको भविष्यलाई निर्धारण गर्छ ।

६ महिना एक वर्षपछि फेरी हिजोकै जस्तै ६, ६ महिनामा ढल्ने सरकार बने भने जेनजीहरुको बलिदानको औचित्य समाप्त हुने छ । अहिले सम्मका अस्थिर सरकार नै विकासका लागि प्रमुख बाधक बनेका हुन् । देशमा भ्रष्टाचारले यति सम्म जरो गाडेको छ यसलाई उखेल्न होस या नियन्त्रण गर्न अर्को सबै भन्दा ठुलो चुनौती छ ।

त्यसलाई चिदै सुशासन स्थापना नगर्दा सम्म जनतामा विश्वासको वातावरण बन्न सक्दैन । वैदेशिक रोजगारीको चक्रलाई तोडेर भित्रै अवसर सिर्जना गर्नु पर्ने अर्को चुनौती छ । समावेशीकरण र समानतालाई प्राथमिकतामा राखेर जातीय, क्षेत्रीय र लैङ्गिक विभेद अन्त्य नगरेसम्म देशको समग्र विकास सम्भव हुन सक्दैन ।

जलवायु परिवर्तन, प्राकृतिक विपत्ति र स्रोतको दुरुपयोग नेपालका लागि दीर्घकालीन चुनौती हुन् । वैदेशिक सम्बन्ध अर्को महत्त्वपूर्ण पाटो छ । छिमेकी राष्ट्र र विश्व शक्तिसँग सन्तुलित सम्बन्ध राख्नु पनि ठुलो चुनौती हो।

अबको सरकारमा कस्ता व्यक्तिहरू मन्त्री हुनु पर्छ भन्ने बारेमा बहस सुरु गर्न ढिलो गर्नु हुदैन् । युवा पुस्ता जसले नयाँ सोच, नयाँ ऊर्जा र प्रविधि–अनुकूल योजना ल्याउन सक्न उनीहरूलाई मन्त्री मण्डलमा पहिलो प्राथमिकता दिनु पर्छ । देशमा आधा भन्दा बढी जनसङ्ख्या महिलाको छ ।

उनीहरू विना विकास सम्भव छैन। लामो समयदेखि उपेक्षित समुदायलाई समेटेर मात्र स्थायी शान्ति सम्भव छ। यस तर्फ पनि जेनजीहरुले ध्यान दिनु पर्छ । विशेषज्ञ र प्राविधिक विकासको पहिलो आधार हो । नीतिलाई व्यवहारमा उतार्न पेसागत दक्षता आवश्यक छ मन्त्रालय विभाजन गर्दा यसमा विशेष ध्यान दिनु आवश्यक छ ।

नेपालको भविष्य उज्यालो बनाउन सरकारलाई नागरिक–केन्द्रित, पारदर्शी र समावेशी बनाउनु जरुरी छ। चुनौतीहरू गम्भीर छन्,सँगै परिवर्तन र उदाहरणीय बन्ने अवसरहरुका कयौं ढोकाहरु समेत खुलेका छन् । त्यसलाई सदुपयोग गर्न सके पूरानो राज्यसत्ताविरुद्ध जेनजीले किन क्रान्ति गरे भन्ने पूर्णस्थापित हुनेछ ।

Scroll to Top