१२ चैत, विराटनगर । विश्वभर मार्च २६ का दिन मनाइने ’पर्पल डे’ (विश्व छारे रोग सचेतना दिवस) को अवसर पारेर विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलले जनचेतनामूलक र्यालीको आयोजना गरेको छ।
नेपालमा छारे रोगका बारेमा व्याप्त सामाजिक अन्धविश्वास र भ्रमहरूलाई चिर्नु नै यस र्यालीको मुख्य उद्देश्य रहेको अस्पतालले जनाएको छ । र्यालीमा अस्पतालका अध्यक्ष एवं वरिष्ठ न्युरोलोजिस्ट डा. वीरेन्द्र कुमार विष्ट, अपरेसनल डाइरेक्टर राजेश भट्टराई वरिष्ठ न्युरोलोजिस्ट डा. सुनन्द पौडेल लगायत डाक्टरहरू, अस्पतालका कर्मचारीहरू र न्यूरो हेल्थ कलेजका विद्यार्थीहरू गरी ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।

सहभागीहरूले बैजनी रंगको टी–सर्ट लगाएका थिए भने हातमा छारे रोग सम्बन्धि सचेतनामूलक नाराहरू लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए । अस्पतालको प्राङ्गणबाट सुरु भएको उक्त र्याली हस्पिटल चोक, जिल्ला प्रशासन कार्यालय, गोल्छा चोक, र महेन्द्र चोक हुँदै नगरको विभिन्न भागको परिक्रमा गरी पुनः अस्पतालमै पुगेर समापन भएको थियो ।
र्यालीको समापनमा बोल्दै वरिष्ठ न्युरोलोजिस्ट डा. सुनन्द पौडेलले छारे रोगको बारेमा समाजमा अझै पनि धेरै भ्रमहरू रहेको बताए । उनले भने, “छारे रोग देवी–देउता रिसाएर वा कुनै जंगली लागेर हुने समस्या होइन । यो मस्तिष्कमा हुने केही रासायनिक परिवर्तन र असन्तुलनका कारण हुने एक प्रकारको समस्या हो ।“
डा. पौडेलले थप स्पष्ट पार्दै भने, “धेरै मानिसहरू अझै पनि मन्दिरमा बलि चढाएर वा झारफुक गरेर छारे रोग निको हुन्छ भन्ने अन्धविश्वासमा छन्, तर त्यसले रोग निको हुँदैन । छारे रोग पूर्ण रूपमा निको हुने रोग हो । यसका लागि नियमित स्वास्थ्य परीक्षण र न्युरो विशेषज्ञको सल्लाह बमोजिम औषधिको सेवन अनिवार्य छ ।“

नेपालमा छारे रोगका बिरामीहरूले अझै पनि सामाजिक भेदभाव र घृणाको सामना गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न यस्ता र्याली र जनचेतनामूलक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास अस्पताल प्रशासनले लिएको छ ।
विगत २५ वर्षदेखि न्युरो सेवामा छुट्टै पहिचान बनाएको यस हस्पिटलले आजैदेखि छारे रोगका बिरामीहरूका लागि विशेष सहुलियत सहितको स्वास्थ्य सप्ताह पनि सुरु गरेको जनाएको छ ।
छारे रोग मष्तिष्कको एक विशेष अवस्था हो, जसमा मष्तिष्कको कोषहरूमा हुने विद्युतीय प्रवाह वा रासायनिक प्रणालीमा अचानक गडबडी उत्पन्न हुँदा बिरामीमा काँप्ने, बेहोस हुने वा शरीरका अंगहरू अनियन्त्रित हुने जस्ता लक्षणहरू देखिन्छन्।



