१८ असार , काठमाण्डौ।
फिफा विश्वकप २०२६ को अन्तिम १६ मा सहआयोजक अमेरिकाले पनि प्रवेश पाएको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहिबार भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एकएक गोल गरे । ४५औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाएका थिए । पहिलो अग्रता दिलाएका बालोगुन ६४ मिनेटमा रातो कार्ड खाँदै बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित रह्यो ।
उनले बोस्नियाका डिफेन्डर तारिक मुहारेमोविचलाई फल हानेपछि रातो कार्ड पाए । यो विश्वकपमा १२ औं रातो कार्ड थियो, जुन सन् २०२२ को कतार विश्वकपभन्दा तीन गुणा बढी हो । यससंगै अमेरिकी स्ट्राइकर बालोगनले एउटै खेलमा गोल र रेड कार्ड दुवै बेहोर्दै फुटबल इतिहासमा आफ्नो नाम दर्ता गराएका हुन् ।
विश्वकपको नकआउट खेलमा गोल गर्ने र रेड कार्ड पाउने बालोगन सन् २००६ को फाइनलमा इटालीविरुद्ध फ्रान्सका महान खेलाडी जिनेदिन जिदानले बनाएको रेकर्ड पछिको पहिलो खेलाडी बनेका हुन्। त्यसबेला जिदानले ७औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए ।
बालोगनले पाएको यो रातो कार्डमाथि ठूलो विवाद सुरु भएको छ । फक्स स्पोट्र्सका विश्लेषक तथा भूतपूर्व फिफा रेफ्री मार्क क्ल्याटनबर्गका अनुसार बालोगनको नियत खराब नभएको भन्दै यो रातो कार्ड दिने खालको फल नभएको बताउछन् ।
‘बालोगनले खुट्टा टेक्ने ठाउँ खोज्दा भुलवश विपक्षी खेलाडीको खुट्टामा पर्न गएको देखिन्छ। यसमा कुनै अत्यधिक बल वा खराब नियत थिएन, त्यसैले रातो कार्ड दिनु अलि अन्यायपूर्ण हो।’ उनले भनेका छन् । अमेरिकी टोलीका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले पनि आक्रोश व्यक्त गर्दै यो कहिल्यै पनि रेड कार्ड हुन नसक्ने दाबी गरेको छ ।
अब बालोगनले बेल्जियमविरुद्धको खेल गुमाउने भएका छन् । बालोगन यस विश्वकपमा ३ गोलसहित अमेरिकाका लागि सर्वाधिक गोलकर्ता हुन् । यता १० खेलाडीमा सीमित रहेपनि अमेरिकाले ८२औं मिनेटमा अर्काे गोल थप्यो । टिलम्यानले डिबक्सभन्दा केही बाहिरबाट फ्रिकिकमार्फत प्रहार गरेको बल सिधै बोस्नियाको गोलपोष्ट छि¥यो ।
त्यसपछि गोल हुन सकेन र अमेरिका २–० ले विजयी भयो । अमेरिकाले २४ वर्षपछि विश्वकपको नकआउट चरणमा जित निकालेको छ । यसअघि सन् २००२ मा भएको विश्वकपमा अमेरिका क्वार्टरफाइनलसम्म पुगेको थियो । त्यसयता दोस्रो चरणबाट बाहिरिदै आएको थियो ।
योसँगै सबै आयोजक राष्ट्र अन्तिम १६ मा प्रवेश गरेका छन् । मेक्सिको र क्यानडाले यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका थिए । अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकाले बेल्जियमसँग खेल्नेछ । प्रशिक्षक मौरिसियो पोचेटिनोको नेतृत्वमा रहेको उर्जावान् अमेरिकी टोली समूह डीको विजेता बन्दै यहाँसम्म आइपुगेको थियो ।
यता बेल्जियमले गएराति सेनेगलसँगको खेलमा पुनरागमन जीत निकाल्दै अन्तिम १६ मा स्थान बनाएको थियो । यस्तै हिजो राती भएको अर्को खेलमा इङ्गल्यान्डले डिआर कङ्गोलाई २–१ ले हराएको थियो । यससंगै अब उसले सहआयोजक मेक्सिकोसंग अन्तिम १६ मा खेल्ने भएको छ ।
यस्तै अर्को खेलमा अन्तिम समयमा २–० को अग्रता सम्हाल्न नसकेको सेनेगल फिफा विश्वकप २०२६ को अन्तिम ३२ बाट बाहिरिएको छ । अन्तिम समयमा खेलमा फर्किएको बेल्जियम भने अन्तिम १६ मा प्रवेश गरेको हो । बेल्जियम २ गोलले पछि परेको अवस्था उल्टाउँदै सेनेगललाई अतिरिक्त समयमा ३–२ ले पराजित अन्तिम १६ को यात्रा तय गरेको हो ।




