४ वैशाख, काठमाण्डौ ।
आज आमाको मुख हेर्ने दिन
सबैले आ–आफ्नो आमा भेटिरहेका छन्
अनि म?
म सम्झनालाई अँगालेर उभिएकी छु
घाम त उस्तै गरी उदाएको छ,
तर मेरो बिहानी अधुरो छ,
किनकि त्यो उज्यालोमा तिम्रो अनुहार छैन
आमा,
टाढा छु… तर टाढा कहाँ छु र?
हरेक सासमा तिमी छौ
निधारको त्यो टिका,
त्यो काँपिरहेको हात..
र त्यो आवाज
“सधैं खुशी रहनु है…”
आज पहिलो पटक,
म खुलेर भन्छु
म तिम्रो त्यागको परिणाम हुँ
तिम्रो मौन पीडाको आवाज हुँ
तिमीले बिताएका ती रातहरू
जहाँ निद्रा हाथ्र्यो…
जिम्मेवारी जित्थ्यो…
जहाँ तिमी रोयौ…
तर आवाज निकालिनौ…
किनकि,
म सुतिरहेकी थिएँ
तिमीले आफूलाई घटायौ, मलाई बढाउन
तिमीले आफ्ना सपना गुमायौ, मेरो भविष्य बनाउन
तिमी भोकै बस्यौ , म तृप्त हुन
तिमी चुप भयौ , मेरो आवाज बोल्न
आमा,
तिमी कहिल्यै हारिनौ
त्यसैले म पनि कहिल्यै हार्ने छैन
आज म लडिरहेकी छु
यो शहरसँग,
यो भीडसँग,
आफ्नै डरहरूसँग
तर हरेक कदममा
तिम्रै साहस बोकेकी छु
जब म थाक्छु
जब म भासिन खोज्छु
तिम्रो सम्झना
एउटा आगो बनेर आउँछ
अनि मलाई फेरि उठाउँछ
अब म फर्किन्छु, आमा
तिम्रो पसिनाको मूल्य चुकाउन,
तिम्रो आँसुको हिसाब मिलाउन,
त्यो दिन आउनेछ आशा गरौ चाडै,छिट्टै
जब म तिम्रो अगाडि उभिएर निधार झुकाउनेछु
र तिम्रो काखमा सबै पीडा बिसाउने छु
र भन्ने छु अब तिमी आराम गर
अब म सम्हाल्छु
किनकि म तिम्री छोरी हुँ
संचिता श्रेष्ठ


