५ वैशाख , काठमाण्डौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान मिलेर परमाणु केन्द्रहरू उत्खनन् गर्ने र त्यहाँ रहेको समृद्ध युरेनियम निकालेर अमेरिकामा लैजाने दाबी गरेका छन् । ट्रम्पका अनुसार बमबारीबाट प्रभावित परमाणु स्थलहरूमा दुवै देशका प्रतिनिधिहरु संयुक्त रूपमा प्रवेश गर्नेछन् र भारी मेसिन प्रयोग गरी उत्खनन् गरेर युरेनियम बाहिर निकालिनेछ ।
उनले अबदेखि इरानले स्ट्रेट अफ होर्मुज कहिल्यै बन्द नगर्न इरान तयार भएको दाबी गर्दै सप्ताहन्तमा अर्को चरणको वार्ता हुनसक्ने र एक–दुई दिनमै शान्ति सम्झौता हुनसक्ने समेत बताएका छन् । तर, इरानले अमेरिकी राष्ट्रपति ट्रम्पले झुटो बोलेको आरोप लगाएको छ । इरानी संसद्का सभामुख मोहम्मद गालिबाफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक घण्टाभित्र ७ वटा झुटा दाबी गरेको आरोप लगाएका हुन् ।
उनले भनेका छन्, ‘यस्ता दाबीहरूले न त अमेरिका युद्ध जित्न सफल भएको छ, न त वार्तामा कुनै फाइदा मिल्नेछ ।’ गालिबाफले आफ्नो सामाजिक सञ्जाल पोस्टमा सो टिप्पणी गरेका हुन् । उनले सञ्चारमाध्यममार्फत जनतालाई प्रभावित पार्ने प्रयास भइरहेको बताउँदै इरानी जनता अमेरिकाको झुटो कुराबाट प्रभावित नहुने दाबी गरेका छन् ।
इरानको राष्ट्रिय सुरक्षा समितिका प्रवक्ता इब्राहिम रेजईले पनि इरानले आफ्नो युरेनियम देशबाहिर नपठाउने स्पष्ट पारेका छन् । रेजईले भनेका छन्, ‘युरेनियम समृद्धीकरण पूर्ण रूपमा बन्द गर्ने वा त्यसलाई अन्त्य गर्ने विषयमा कुनै सहमति हुने छैन, किनभने इरानले यसलाई आफ्नो शान्तिपूर्ण आणविक कार्यक्रमको हिस्सा मान्छ ।’
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पनि इरानको युरेनियम कतै पनि लैजान नदिने बताएका छन् । बकाईले ट्रम्पको दाबी अस्वीकार गर्दै युरेनियम इरानका लागि आफ्नो जमिनजत्तिकै महत्वपूर्ण रहेको र कुनै हालतमा बाहिर नपठाइने बताएका छन् । यता स्ट्रेट अफ होर्मुज खोल्न इरान तयार भए पनि नाकाबन्दी जारी रहने ट्रम्पले बताएका छन् ।
अमेरिकी सेनाको युएस सेन्ट्रल कमाण्डले पनि नाकाबन्दी राष्ट्रपति ट्रम्पको आदेश नभएसम्म जारी रहने जनाएको छ । इरानका सभामुख गालिबाफले भने यदि अमेरिकाले नाकाबन्दी जारी राख्यो भने स्ट्रेट अफ होर्मुज सधैं खुला नरहने चेतावनी दिएका छन् । उनका अनुसार जहाजहरूको आवागमन निश्चित मार्ग र इरानको अनुमतिअनुसार मात्र हुनेछ ।
उनले होर्मुज खुला रहने कि बन्द हुने भन्ने विषय सामाजिक सञ्जालका दाबीले होइन, भौतिक अवस्थाले निर्धारण गर्ने बताए । इरानले युद्धविरामका क्रममा होर्मुज जलडमरू खोल्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । ब्रेन्ट क्रुड करिब ९ प्रतिशतले घटेर प्रतिब्यारेल ९०.३८ डलरमा झरेको छ, जुन १० मार्चपछि सबैभन्दा न्यून स्तर हो ।
यो निर्णय लेबनानमा युद्धविराम भएपछि लिइएको हो । इरानी विदेशमन्त्री अब्बास अराघचीका अनुसार, यात्राका क्रममा कुनै जोखिम नहोस् भनेर जहाजलाई एक सुरक्षित मार्गबाट सञ्चालन गरिनेछ, त्यो इरानको पोट्र्स एन्ड म्यारिटाइम अर्गनाइजेसनले तय गरिसकेको छ ।
अराघचीले यो अवधिमा सामुद्रिक व्यापार प्रभावित नहोस् भन्ने उद्देश्यले जहाजको सुरक्षित आवागमन सुनिश्चित गरिने बताएका छन् । शुक्रबार उनले यो घोषणा गरेका हुन् । इजरायल र लेबनानबीचको १० दिने युद्धविरामको पहिलो पूर्ण दिन इरानले यो निर्णय लिएको हो ।
यसैबीच, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै इरानलाई धन्यवाद दिएका छन् । उनले होर्मुज स्ट्रेट खोलिए पनि इरानमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहने बताएका हुन् । र, यो इरानी जहाजमा मात्र लागु हुने उनले उल्लेख गरेका छन् ।
यसप्रति इरानले चेतावनी दिएको छ कि आफ्ना बन्दरगाहमा नाकाबन्दी जारी रहे त्यसलाई युद्धविरामको उल्लंघन मानिनेछ । र, होर्मुज स्ट्रेट पुनः बन्द गरिनेछ । यस्तै जहाजहरुले इरानी जल अधिकारीहरुले तय गरेका नियम पालना गर्नुपर्ने इरानका विदेशमन्त्री अब्बास अराग्चीले बताए ।
यसका लागि तेहरानलाई शुल्क बुझाउनुपर्छ वा पर्दैन भन्ने घोषणामा स्पष्ट छैन । तेहरानले केही समयअघिदेखि हर्मुज हुँदै जाने जहाजसँग टोल ट्याक्स उठाउँदै आएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् नजिक स्रोतलाई उद्धृत गर्दै तस्निम न्युजले व्यावसायिक जहाजहरूले इरानी सेनासँग समन्वय गरेरमात्रै अघि बढ्न पाउने जनाएको छ ।
तस्निम रिपोर्टका अनुसार शत्रु राष्ट्रसँग सम्बन्ध राख्ने जहाजहरु आउन–जान पाउने छैनन । यसअघि ७ अप्रिलमा हर्मुजको जलघाँटी खोल्ने सहमतिसहित इरानसँग युद्धविराम गरिएको घोषणा ट्रम्पले गरेका थिए । त्यस दौरान इरान र अमेरिकाका कुनै पनि सहयोगीविरुद्ध कसैले पनि आक्रमण नगर्ने सहमति बनेको थियो ।
तर, इजरायलले यो सहमतिमा लेबनानको सशस्त्र समुह हिजबुल्लाहविरुद्धको लडाँइ उल्लेख नभएको दाबी गर्दै लेबनानमा आक्रमण गरिरह्यो । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इजरायलको दाबीलाई समर्थन गर्दै सम्झौतामा लेबनानको युद्धविराम समावेश नरहेको बताए । इरानले पनि लेबनानमा आक्रमण बन्द नभएसम्म हर्मुज नखोल्ने अडान लियो ।
शुक्रबार इजरायल र लेबनानबीच युद्धविराम सहमति भएसँगै इरानले हर्मुज खोल्ने घोषणा गरेको हो । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटअघि इरान युद्ध अन्त्य गर्न चीनले आफ्नो कूटनीतिक प्रयासलाई तीव्रता दिएको छ । चिनियाँ राष्ट्रपति सी जिंगपिङले अमेरिकी समकक्षीलाई आगामी महिना भेट्दैछन् ।
त्यसअघि युद्ध अन्त्यका लागि चीनले इरानलाई नचिढ्याई सन्तुलित कूटनीति अघि बढाइरहेको हो । आगामी मे १४ मा ट्रम्प चीन पुग्ने तय भएको छ । मेमा राष्ट्रपति सीको ट्रम्पसँगको भेटलाई दृष्टिगत गर्दै चीनले आफ्नो कूटनीतिलाई अघि बढाइरहेको विश्लेषकहरू बताउँछन् ।
आफ्नो ऊर्जा आपूर्तिलाई सुरक्षित राख्ने र विश्व स्थिरताको पहल गर्ने रणनीतिमा चीन अग्रसर रहेको विश्लेषकहरू बताउँछन् । इरान र अमेरिकाबीच वार्ता सम्पन्न गराउन चीनले अप्रत्यक्ष ढंगले सहयोग गरिरहेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले समेत प्रशंसा गरेका थिए ।
इरान अमेरिकाबीचको वार्तामा चीन प्रत्यक्ष वार्तामा नबसे पनि उसले आफ्नो कूटनीतिक पहलमा कुनै कसुर बाँकी नराखेको चीन ग्लोबल साउथ प्रोजेक्टका प्रधान सम्पादक इरिक ओलाण्डरले रोयटर्ससँग बताएका छन् । ’’राष्ट्रपति ट्रम्पले इरानसँग चीनले गरेको संवादबारे बारम्बार कृतज्ञता प्रकट गरिरहेका छन् ।
वार्ताको टेबुलमा चीनका लागि सिट छैन तर उसले कूटनीतिक वार्ताको कोठामा आफ्नो राम्रो स्थान बनाएको छ,’’ उनले भने । ट्रम्पको स्वभाव लेनदेनमा आधारित राजनीति भएकाले त्यसको लाभ चीनले उठाउन खोजिरहेको विश्लेषकहरूको मत छ ।
इरान युद्ध अन्त्य चीनको लेनदेन स्वार्थमा आधारित रहेको जानकारहरू बताउँछन् । अमेरिकी राष्ट्रपतिसँगको भेटमा ताइवानमाथिका आफ्ना लक्ष्यलाई स्पष्ट राख्दै त्यसमा ट्रम्पको साथ खोज्ने प्रयत्नमा चीन रहेको विश्लेषकहरूको मत छ।
ट्रम्पलाई भव्य रातो कार्पेटमा सत्कार गरेर फकाउँदै आफ्नो रणनीतिक स्वार्थ केन्द्रमा राख्ने पक्षमा बेइजिङ रहेको एक कूटनीतिज्ञले रोयटर्सलाई बताएका छन् ।
चीनले भने मध्यपूर्वमा स्थिरताका लागि मात्रै आफ्नो प्रयत्न रहेको बताएको छ । चीनको विदेश मन्त्रालयले भनेको छ,’’यस क्षेत्रमा जारी तनाव साम्य पार्दै स्थायित्व स्थापनका लागि चीनले आफ्नो प्रयत्न गरेको हो । त्यसलाई निरन्तरता दिनेछ।’’ स्ट्रेट अफ होर्मुजमा अमेरिकी नाकाबन्दी पछि आफूले आपूर्ति गर्दै आएको तेलमा अवरोध सिर्जना भएसँगै चीनले आफ्नो कूटनीतिक पहललाई तीव्रता दिएको छ ।
इरान युद्धबारे चीनले कुनै पनि आक्रामक टीकाटिप्पणी गरेको छैन । आफूसँगको वार्ताअघि अमेरिकालाई नचिढ्याउने पक्षमा चीन रहेको विश्लेषकहरूको बताउँछन् । यस युद्धबारे राष्ट्रपति सीले चारबुँदे शान्ति सम्झौता योजना अघि सार्दै मौनता तोडेका थिए ।
सहअस्तित्व, राष्ट्रिय स्वाधीनताको सम्मान,अन्तर्राष्ट्रिय कानुनको पालना र सन्तुलित विकास र सुरक्षालाई केन्द्रमा राख्दै समाधान खोज्नुपर्ने भन्दै चीनले आफ्नो मौनता गत मंगलबार तोडेको हो । त्यसअघि अमेरिकाले इरानी सभ्यता समाप्त पार्ने धम्की दिएको समयमा चीन बोलेको थियो ।
विदेश मन्त्रालयका प्रवक्ता माओ निङले अमेरिकी उक्त चेतावनीबाट चीन चिन्तित रहेको भन्दै युद्ध अन्त्यमा रचनात्मक भूमिका निर्वाह गर्न चीन तयार रहेको बताएका थिए । चिनियाँ विदेशमन्त्री वाङ यीले युद्धविराम पहलका लागि अमेरिकी र इरानी समकक्षीसँग ३० पटकभन्दा बढी फोन संवाद गरेका थिए ।
यस्तै, चीनले आफ्नो विशेष दूत जन चाइलाई गल्फ र अरब राष्ट्रलाई दबाबमा राख्नका निम्ति परिचालित गरेको थियो । सीले आफ्नो शान्ति योजना सम्बन्धी प्रस्ताव अबु दाबीका युवराज शेख खालि बिन मोहम्मद बिन जइद अल नैहानसँग खोलेका थिए । साउदीसँग प्रगाढ सम्बन्ध विस्तार देखाउँदै इरानलाई वार्तामा आउन चीनले रणनीतिक दबाब दिएको विश्लेषकहरूको मत छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्ध लम्बिँदै गयो । यसमा चीनको तत्परता र रणनीतिक हस्तक्षेपमा परिवर्तन आएको रोन्मिक विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्यापन गराउने प्राध्यापक चुइ शौजुन बताउँछन् । चीनलाई इरानको भन्दा इरानलाई चीनको आवश्यकता बढी भएकाले ट्रम्पसँगको शिखर भेटलाई जोगाउँदै चीनले इरानमाथि युद्धविरामको दबाब बढाएको केही विश्लेषकहरूको मत छ ।
सिंगापुर एस. रजरत्नम स्कुलमा अन्तर्राष्ट्रिय अध्ययनका वरिष्ठ अध्येता ड्रयु थम्पसन भन्छन्,’’इरान जस्तो पश्चिमा विरोधी राष्ट्रसँग सर्तहीन सम्बन्ध कायम राख्नु र अमेरिकासँग कार्यगत सहकार्य जारी राख्नुपर्ने अवस्थामा चीन छ ।’’ इरानलाई अमेरिकासँग वार्ता ल्याउन चीनले भूमिका खेले पनि इरानको निर्णयमा प्रभाव पार्ने क्षमता भने चीनसँग छैन ।
कतिपय विश्लेषकहरू मध्यपूर्वमा चिनियाँ कूटनीतिलाई राज्यकौशल भन्दा पनि नाटकीय प्रदर्शनको संज्ञा दिन्छन् । यसबेला इरानीहरू चीनसँगको आफ्नो सम्बन्धलाई थप बढवा दिन उत्सुक छन् । उनीहरूले बेइजिङलाई युद्धविरामको जमानीकर्ता बस्न आग्रह गरिरहेका छन् । यद्यपि, बेइजिङले यसप्रति कुनै चासो देखाएको छैन ।
चीनको यो शैलीबारे ब्रुकिङस इस्टिट्युसनकी प्याट्रिसिया कीम भन्छिन्,’’युद्धका कारण अमेरिका निकै दबाब पर्दा चीन सबै कुरा किनाराबाट नियालिरहेको छ ।’’ उक्त शिखर भेटमा चीनले चार वर्षदेखि अड्किएको बोइङ खरिद सम्झौताका लागि तयार हुने अपेक्षा गरिएको छ ।
चीनले अमेरिकी ट्रयारिफ नीतिलाई केन्द्रमा राख्दै ५०० देखि ६०० बोइङ खरिदलाई रुद्ध गरेको थियो । यस्तै, दुई मुलुकबीच कृषि सामाग्री खरिदमा पनि सम्झौता हुने अपेक्षा गरिएको छ । उक्त भेट महत्वकांक्षी विषयमा भने केन्द्रित हुने संभावना न्यून रहेको विश्लेषकहरू बताउँछन् । ’’चीनले अमेरिकासँग ठूलै रणनीतिक सम्झौता गर्ने संभावना न्यून छ,’’ स्कट केनेडी भन्छन् ।


