७ साउन , काठमाण्डौ ।
कुनै समय बालबालिकाको हाँसो गुञ्जिन्थ्यो । कक्षाकोठामा किताबका पाना पल्टिन्थे। रंगीन भित्तामा फूल र बेलुनका चित्र थिए । शिक्षकहरू भविष्य निर्माण गर्ने सपना देख्थे । तर अहिले त्यही ठाउँमा मौनता छ । भत्किएका पर्खाल, चर्किएका कक्षाकोठा र भग्नावशेषले एउटा प्रश्न सोधिरहेका छन—युद्धको वास्तविक मूल्य कसले चुकाइरहेको छ ?
दक्षिणी इरानको मिनाब शहरस्थित शाजारेह तय्येबेह प्राथमिक विद्यालय अहिले एउटा युद्धको पीडादायी प्रतीक बनेको छ । ३३ वर्षीया शिक्षिका अमाइनेह नादेमी जब विद्यालयको भग्नावशेषभित्र पस्छिन्, उनलाई अझै पनि सबै कुरा याद छ । कुन कोठामा छात्राहरू पढ्थे । कुन तलामा छात्रहरू थिए । प्रधानाध्यापकको कार्यालय कहाँ थियो ।
र कुन कक्षामा उनले पहिलो कक्षाका साना बालिकालाई पढाउँथिन् । तर अहिले उनको कक्षाकोठा छैन । त्यहाँ केवल धुलो, टुक्रिएका भित्ताहरू र युद्धको निशाना बाँकी छन् । २८ फेब्रुअरीको बिहान विद्यालयमा दिन सामान्य रूपमा सुरु भएको थियो । रमजानको महिना भएकाले विद्यार्थीहरू प्रार्थना कक्षमा भेला भएका थिए ।
त्यसपछि नियमित पढाइ सुरु भयो । अमाइनेह आफ्ना विद्यार्थीलाई फारसी भाषाको नयाँ अक्षर सिकाउँदै थिइन् । तर त्यही समयमा अमेरिका र इजरायलबीच इरानमाथिको सैन्य अभियान सुरु भएको थियो । देशका विभिन्न भागमा विस्फोटका खबर आइरहेका थिए । विद्यालय बन्द गर्ने निर्णय भयो । शिक्षकहरूले अभिभावकलाई आफ्ना बच्चा लिन आउन आग्रह गर्न थाले । तर केही विद्यार्थी अझै विद्यालयमै थिए ।
अमाइनेह सम्झिन्छिन—उनी करिडोरमा थिइन्, जब अचानक ठूलो विस्फोट भयो । एकै क्षणमा सबै कुरा बदलियो , उनका अनुसार विस्फोटपछि धुवाँ यति बाक्लो भयो कि उनले आफूले अँगालोमा समातेका विद्यार्थीहरूलाई समेत देख्न सकिनन् । केही मिनेटमै एउटा विद्यालय युद्धको सबैभन्दा दर्दनाक घटनास्थल बन्यो ।
इरानी अधिकारीहरूका अनुसार उक्त घटनामा १५६ जनाको मृत्यु भएको छ, जसमा ठूलो संख्यामा बालबालिका रहेको बताइएको छ । तर प्रत्येक संख्या पछाडि एउटा परिवारको कथा छ । एउटा सपना छ। एउटा अधुरो भविष्य छ । नौ वर्षीया सेतायेश पनि त्यहीमध्ये एक थिइन् ।
उनकी आमाका अनुसार सेतायेशको सपना शिक्षिका बन्ने थियो । घरमा उनी आफ्ना खेलौनाहरू लाइनमा राखेर भन्थिन—म तिमीहरूको शिक्षिका हुँख । तर त्यो सपना अब एउटा चिहानमा राखिएको तस्वीरमा सीमित भएको छ । उनकी आमाले त्यो दिन सम्झिँदै भनिन्, विद्यालय पुगेपछि उनले विद्यालय देखिनन् । उनले धुवाँ देखिन् । भग्नावशेष देखिन् । र आफ्ना बच्चा खोजिरहेका सयौं अभिभावक देखिन् ।
धेरै परिवारले आफ्ना सन्तानलाई कपडा वा जुत्ताबाट पहिचान गर्नुपरेको बताइएको छ । यो घटनापछि सबैभन्दा ठूलो प्रश्न बनेको छ—आक्रमणको जिम्मेवार को हो ? इरानी अधिकारीहरूले अमेरिकी सेनामाथि आरोप लगाएका छन् । अमेरिकाले भने अहिलेसम्म औपचारिक रूपमा जिम्मेवारी स्वीकार गरेको छैन ।
अमेरिकी अधिकारीहरूले सैन्य अनुसन्धान जारी रहेको बताएका छन् । केही अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिकी अनुसन्धानलाई उद्धृत गर्दै प्रारम्भिक निष्कर्षमा गलत सूचनाका कारण विद्यालयलाई सैन्य क्षेत्रको हिस्सा ठानिएको हुन सक्ने उल्लेख गरेका छन् । विद्यालय नजिकै इरानको रिभोलुसनरी गार्ड अर्थात् आईआरजीसीसँग सम्बन्धित क्षेत्र रहेको बताइएको छ ।
तर स्थानीय बासिन्दाहरूका अनुसार उक्त स्थानको सैन्य प्रयोगबारे विवाद छ । यही कारण यो घटना अन्तर्राष्ट्रिय बहसको केन्द्र बनेको छ । आधुनिक युद्धमा प्रयोग हुने भाषा प्रायः रणनीति र सैन्य लक्ष्यमा केन्द्रित हुन्छ । तर ती शब्दहरूको पछाडि वास्तविक मानिसहरू हुन्छन् ।
मिनाबको विद्यालयले एउटा गम्भीर प्रश्न उठाएको छ—यदि युद्ध सुरक्षा र लक्ष्यका लागि गरिन्छ भने, निर्दोष नागरिकको मृत्युको जिम्मेवारी कसरी निर्धारण हुन्छ ? मिनाबको घटना केवल एउटा विद्यालयमाथिको हमला मात्र होइन । यो अमेरिका र इरानबीचको लामो समयदेखिको तनावको मानवीय परिणाम पनि हो ।
मध्यपूर्वमा शक्ति संघर्ष दशकौंदेखि जारी छ । अमेरिका आफ्नो रणनीतिक प्रभाव कायम राख्न चाहन्छ । इरान आफ्नो क्षेत्रीय भूमिका जोगाउन चाहन्छ । इजरायल आफ्नो सुरक्षालाई प्राथमिकता दिन्छ । तर यी सबै शक्ति संघर्षको बीचमा सबैभन्दा बढी असर साधारण नागरिकमाथि पर्छ । मिनाब त्यसको एउटा पीडादायी उदाहरण बनेको छ ।
युद्धको इतिहास केवल सेना र राजनीतिक निर्णयहरूको इतिहास होइन । यो ती मानिसहरूको इतिहास पनि हो, जसले युद्ध सुरु गरेका हुँदैनन् तर त्यसको मूल्य तिर्न बाध्य हुन्छन् । मिनाबको भग्नावशेषमा परिणत भएको विद्यालय आज पनि एउटा मौन प्रश्न बनेर उभिएको छ, युद्धमा वास्तविक विजेता को हुन्छ, जब हार्नेहरू निर्दोष बालबालिका हुन्छन ?
विश्वका शक्तिशाली राष्ट्रहरूले सुरक्षा र रणनीतिक हितको कुरा गरिरहँदा एउटा सत्य कहिल्यै बिर्सन मिल्दैन—हरेक युद्धको पछाडि एउटा मानव कथा हुन्छ । र ती कथाहरूमा सबैभन्दा पीडादायी आवाज प्रायः निर्दोषहरूको हुन्छ ।




