२२ वैशाख , काठमाण्डौ ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले चारमध्ये तीन खेलमा जित निकाल्न सफल भएको छ । मंगलबार ओमानमाथि ८१ रनको जित निकालेसँगै नेपालले सिरिजमा तेस्रो जित निकालेको हो ।
यसअघि नेपालले युएईविरूद्ध दुवै खेलमा जित निकालेको थियो । ओमानविरूद्धको पहिलो खेलमा भने नेपाल पराजित भएको थियो । नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमा अलआउट भयो । ओमानका लागि विनायक शुक्लाले ३६ रन बनाए भने हमाद मिर्जाले ३४ रन बनाउन सके ।
बलिङमा नेपालका गुल्सन झाले उत्कृष्ट प्रदर्शन गर्न सफल भए । उनले ५ विकेट लिँदै एकदिवसीय करिअरको उत्कृष्ट बलिङ गर्न सफल भए । गुल्सनले ९ ओभरमा ३८ रन खर्चिएका हुन् । यस्तै सन्दीप लामिछानेले ८.५ ओभरमा २ मेडन राख्दा ३० रन खर्चिए भने १ विकेट हात पारे ।
करण केसी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीको नाममा १–१ विकेट रह्यो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल अन्तिम बल खेल्न बाँकी छँदा २५६ रनमा अलआउट भयो । नेपालका लागि ओपनर आसिफ शेखले ९४ रनको योगदान गरे ।
उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दा शतक बनाउन ६ रन चुके । अर्का ओपनर विनोद भण्डारी भने डकआउट भए । उनी दोस्रो पहिलो बलमा आउट हुन पुगेका थिए । तेस्रो नम्बरमा ब्याटिङ गरेका अर्जुन कुमालले ४८ रन जोडे। २ रनले अर्धशतक बनाउन चुकेका अर्जुनले ८७ बल खेलेर ४ चौका हिर्काए ।
कप्तान रोहितकुमार पौडेल १६ बल खेलेर ९ रन जोडे भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४२ बलमा ३३ रन बनाए । गुल्सन झा १७ रनमा आउट भएका थिए । अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरेर आउट हुनुअघि आरिफ शेखले २४ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४३ रन बनाए । करण केसी ०, नन्दन यादव २ रन र सन्दीप लामिछाने १ रनमा आउट भए ।
बलिङमा ओमानका नदीम खानले ३ विकेट हात पारे। सकील अहमद र हसनइन शाहले २–२ विकेट लिए । नेपाल, ओमान र युएई सम्मिलित यो सिरिजका नेपालले यसअघि युएईलाई दुवै खेलमा हराएको थियो । नेपालले ओमानसँगको पहिलो खेलमा भने पराजय भोगेको थियो ।
अंक तालिकामा ओमान २८ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा छ । सातौं स्थानमा रहेको नेपालको २४ खेलबाट १८ अंक भएको छ । नेपालले लिग–२ को सिरिजमा यसपटक तीन खेल जितेको यो पहिलो पटक हो । अंक तालिकाको पुछार अर्थात् आठौं स्थानको युएईको २४ खेलबाट १४ अंक छ ।



