अहिले कस्तो छ देवानगञ्ज ? सेनाको सुरक्षा कायमै

१२ साउन ८३, बुधबार

१३ साउन , काठमाण्डौ ।

Advertisement

आइतबार राति एक जनाको गोली लागेर मृत्यु र दुई दर्जन ब्यक्ति घाइते हुने गरी दुई पक्षबीच भएको उग्र झडप र तनावका कारण अशान्त बनेको सुनसरीको देवानगञ्ज र आसपासका क्षेत्रहरू आज बिहानदेखि बिस्तारै शान्त बन्दै गएका छन्।

जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेसँगै र सुरक्षा निकायले कडा निगरानी बढाएपछि स्थितिलाई नियन्त्रणमा आउन थालेको छ । गएराति अबेरसम्म झडप, आगजनी र तोडफोडका घटनाहरू भए पनि आज बिहानैदेखि भने कुनै पनि अप्रिय घटना अहिले सम्म घटेका छैनन्।

Advertisement

हिजोको त्रास र कोलाहल आज बिहानसम्म आइपुग्दा शान्तिमा परिणत भएको छ। स्थतिलाई पूर्ण रूपमा साम्य पार्न र बिग्रिएको सामाजिक सद्भावलाई पुनः स्थापित गर्न घटना भएको मुख्य स्थान कप्तानगञ्जमा सर्वदलीय बैठक बसेको छ ।

बैठकमा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता, सम्पूर्ण वडाका वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र गाउँका भद्रभलाद्मीहरूको बाक्लो उपस्थिति रहेको छ। यो बैठकले गाउँमा शान्ति सुरक्षा कायम गर्न र दुवै पक्षबीच समझदारी विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Advertisement

यस्तै सरकारले बनाएको सहसचिव नेतृत्वको छानविन समिति पनि देवानगन्जमा पुगेर मृतक परिवार र स्थानीयसँग छलफलमा जुटेको छ । छानबिन टोलीले कप्तानगञ्ज पुगेर मृतकको परिवारसँग भेट गरेको छ।

भेटका क्रममा स्थानीयले सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सीमापार तस्करीदेखि मदरसाको निगरानीसम्मका विषय उठाएका छन् । सरकारले गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

थापाको संयोजकत्वमा रहेको समितिमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी र जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव छन् ।

हिजोको तुलनामा आज यस क्षेत्रका गाउँहरूको जनजीवन सामान्य बन्दै गएको छ। हिजो दिनभर सुनसरीका विभिन्न स्थानमा भएका झडपका कारण घरभित्रै त्रसित अवस्थामा रहेका सर्वसाधारणहरू आज बिहानबाट बाहिर निस्कन थालेका छन्।

सडकहरूमा मानिसहरूको फाट्टफुट्ट आवतजावत बढेको छ भने, गाउँलेहरू त्रासलाई भुल्दै बिस्तारै आफ्नो दैनिक कामकाज र खेतबारीको काममा निस्कन थालेका छन्। यद्यपि, कफ्र्युको नियमलाई भने सर्वसाधारणले पालना गरिरहेका छन्।

सुनसरीको दक्षिणी क्षेत्रहरूमा आज बिहानैदेखि नेपाली सेनाले गस्ती सुरु गरेपछि अवस्था थप सामान्य र सुरक्षित महसुस गरिएको छ। अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले स्थिति पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको छ।

कफ्र्युसँगै बिहानैदेखि सुनसरीका मुख्य बजार तथा ग्रामीण क्षेत्रका चोक–चोकमा सुरक्षा निकायको बाक्लो र तैनाथी उपस्थिति रहेको छ। हिजो दिनभर र राति देवानगञ्ज क्षेत्रमा दुई समूहबीच भएको झडपमा थुप्रै निजी सम्पत्तिहरूमा आगजनी र तोडफोड भएको छ।

यद्यपि, आगजनी र भौतिक क्षतिको यकिन विवरण भने अझै संकलन हुन सकेको छैन। सुरक्षा निकाय र स्थानीय प्रशासनले क्षतिको विवरण संकलन गर्ने कार्य गरिरहेको जनाइएको छ।

यसैबीच, सामाजिक सञ्जालमा धारिलो हतियार प्रहार भएका र पुराना हिंसात्मक घटनाका भ्रामक तस्बिर तथा भिडियोहरू शेयर भइरहेको भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरीले त्यस्ता तथ्यहीन र समाजमा उत्तेजना फैलाउने अफवाहको पछि नलाग्न र संयमता अपनाउन सम्पूर्ण सर्वसाधारणमा विशेष अनुरोध गरेको छ। स्थिति नियन्त्रण बाहिर जान नदिन र थप क्षति हुन नदिन जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरिएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले अर्को आदेश जारी नभएसम्मका लागि तोकिएका क्षेत्रहरूमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा र घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको बताएका छन्।

हाल कफ्र्यु जारी भएका क्षेत्रहरूमा इटहरी उपमहानगरपालिकाः वडा नं. १६ र १७ को पूर्व–पश्चिम महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ। रामधुनी नगरपालिकाः वडा नं. १ र ५ को महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ क्षेत्र तोकीएको छ ।

यसै इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिका सबै क्षेत्रमा कफ्र्यु जारी गरिएको छ ।

स्थानीय प्रशासनले कफ्र्यु आदेशको पूर्ण पालना गर्न र शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सम्पूर्ण नगर तथा गाउँबासीलाई आग्रह गरेको छ। सर्वदलीय बैठकको निष्कर्षपछि स्थितिको थप मूल्यांकन गरी प्रशासनले आगामी कदम चाल्नेछ।

यसैबीच सुनसरीलगायतका जिल्लामा विकसित घटनालाई लिएर राजनीतिक दलहरूले शान्ति र सद्भावको लागि सामूहिक अपिल जारी गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले डाकेको बैठकपछि ९ वटा दलका प्रमुख तथा प्रतिनिधिले ७ बुँदे अपिल निकालेका हुन् ।

संयुक्त अपिलमा राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दलहरू एकताबद्ध रहेको सन्देशसहित उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न तयार रहेको संकल्प गरिएको छ ।

सदियौंदेखि हाम्रो समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौं। आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी छ,’ दलहरूले भनेका छन् ।

प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पु¥याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न पार्टीका तल्ला कमिटीहरूलाई निर्देशन दिइएको छ ।

स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुन पनि आग्रह गरिएको छ । संवेदनशील समयमा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न नागरिकलाई अनुरोध गरिएको छ साथै सञ्चारमाध्यमहरूलाई संयमित र तथ्यपरक सूचना सम्प्रेषणका लागि आग्रह गरिएको छ ।

नागरिकको जीउधनको रक्षा गर्नु राज्यको दायित्व भएकोले संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top