१४ साउन , काठमाण्डौ ।
आज संघीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक अहिले ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै सभामुख डीपी अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, आज विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ । ११ः०० बजेका लागि तय भएको समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ ।
यता प्रतिनिधिसभाको बैठक १४ दिनपछि बस्न लागेको हो । यसअघि प्रतिनिधिसभाको पछिल्लो बैठक असार ३१ गते बसेको थियो । यसबीच आजको संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने, नहुनेबारे अहिलेसम्म जानकारी छैन ।
यद्यपि सभामुख अर्यालले बैठकको पूर्वसन्ध्यामा हिजो प्रधानमन्त्री शाहसँग भेट गरी प्रतिनिधिसभालाई सम्बोधन गर्न आग्रह गरेका थिए । सभामुखको आग्रहलाई सकारात्मक रुपमा लिँदै शाहले विचार गर्ने जवाफ दिएका छन् ।
सुनसरी घटनाको सन्दर्भमा समेत सम्बोधन गरी सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि आह्वान गर्न सभामुख अर्यालले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । कुनै ठोस जवाफ नदिइ विचार गर्छु भनेका प्रधानमन्त्री शाह आजको बैठकमा आउँछन कि आउँदैनन् तय भइसकेको छैन ।
तर सरप्राइज दिने शैलीका कारण प्रधानमन्त्री शाह सकारात्मक देखिएकाले आजको बैठकमा उपस्थित हुने अपेक्षा सत्ता पक्ष र सभामुखले गरेका छन् । विपक्षी दलहरुले सीमासम्बन्धी दिएको अभिव्यक्तिमा स्पष्टीकरण दिनुपर्ने माग उठाइरहेका छन् ।
यसमा पनि लचिलो भएका छन् । प्रधानमन्त्रीको राष्ट्रको नाममा सम्बोधन गर्दा सीमा सम्बन्धी अभिव्यक्तिलाई स्पष्ट पारिदिए पुग्ने माग उनीहरुको छ । यसैगरी बैठकको पूर्वसन्ध्यामा रास्वपा सभापति रवि लामिछानेले सुनसरी घटनामा सर्वदलीय बैठक राखेर सबै दलको एकीकृत धारणा बनाई सार्वजनिक गरेका छन् ।
यसअघि मंगलबार सभामुख अर्यालले संसद बैठकको कार्यसूची र सदनको सञ्चालनका विषयमा राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका थिए ।
सो बैठकमा विचाराधीन रहेका विधेयकहरूलाई अगाडि बढाउने, शून्य तथा विशेष समयमा उठ्ने जनसरोकारका मुद्दाहरू र संसदीय प्रक्रियालाई चुस्त बनाउने विषयमा सभामुखले दलहरूको राय मागेका थिए ।
हिजो बुधबार भने उनले विपक्षी दलका शीर्ष नेताहरुलाई छुट्टाछुट्टै भटेका थिए । उनले एमालेका संसदीय दलका नेता रामबहादुर थापा, काँग्रेसका दलका नेता भीष्मराज आङ्देम्बे र नेपाल कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
ती भेटहरूमा पनि संसद्लाई द्वन्द्वरहित र कार्यसूचीमा आधारित बनाएर अघि बढाउने विषयमा सहमति खोज्ने प्रयास गरिएको सचिवालयले जनाएको छ । संसद् बैठक दसैँ अगाडिसम्मै चल्ने पनि बताइएको छ ।




