काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ (निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार) सम्बन्धी दस्तावेज निर्माण गर्न ११ सदस्यीय समिति गठन गरेको छ। पार्टीको भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको प्रवक्ता जगदिश खरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
समितिको संयोजकमा आचार्य छन् भने सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने रहेका छन्।
रास्वपाले ‘राइट टु रिकल’को व्यवस्था पार्टीको राजनीतिक एजेन्डाका रूपमा अघि बढाउँदै आएको छ। उक्त व्यवस्थासम्बन्धी दस्तावेज तयार गर्न गठित समितिले यसको अवधारणा, कार्यान्वयनको प्रक्रिया तथा आवश्यक नीतिगत विषयमा अध्ययन गर्नेछ।




